पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७९, शनिबार

    लमजुङ । बेँसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

    खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए । उनले भने, “त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो, झन केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिराले सडक अवरुद्ध बनाइरहेको छ ।”

    प्रहरीका अनुसार १०÷१५ मिटर सडक नै अवरुद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरुद्ध बनाएको छ । यतिबेला डुमे्र–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ । बेँसीसहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो ।—