काठमाडौ । राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताएका छन् ।
आइतबार रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उहाँले मुलुक सङ्घीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । उनले भने, “राससमा देशका सक्षम, योग्य र सम्बन्धित विषयका जानकार जनशक्ति हुनुहुन्छ, यस्तो अवस्थामा आगामी दिनमा सकारात्मक परिणाम आउने गरी काम गर्न सकिने विश्वास छ ।”
अध्यक्ष झाले आफू राससमा ठूलो दायित्व बोध गरेर आएको उल्लेख गर्दै प्रभावकारीरूपमा काम गर्न समूहगत सहकार्यको खाँचो औल्याए । राससकर्मीले कुनै पनि काम गर्दा सदैव यो संस्था जनताको करबाट सञ्चालन भएको हो भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा महाप्रबन्धक सिद्धराज राईले अध्यक्ष झालाई स्वागत गर्दै पत्रकारिता क्षेत्रका अनुभवी र वरिष्ठ व्यक्तिलाई राससले नेतृत्वका रूपमा पाएकामा खुसी व्यक्त गरे । साथै उनले कार्यकालभर राम्रो सहकार्य हुने विश्वास व्यक्त गरे ।
प्रशासन प्रमुख शीतलप्रसाद महतोले पत्रकारिताका गुरुका रूपमा स्थापित वरिष्ठ पत्रकारलाई राससले अध्यक्षका रूपमा पाउनु खुसीको कुरा भएको बताउँदै आगामी दिनमा राससले थप राम्रो काम गर्दै जाने बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष रहनुभएका झालाई यही असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।क्याम्पस पढ्ने क्रममा विसं २०४३ मा भित्ते पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनीसँग त्यसयता अन्नपूर्ण पोष्ट दैनिक, हिमालय टाइम्स दैनिक, हिमालय टिभीलगायत मूलधार र मोफसलका दर्जनौँ मिडियामा उच्च तहमा रहेर काम गरेको अनुभव छ ।