काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७९, शुक्रबार

    पोखरा । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ । मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गरे ।

    यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बिएसबिएस मेसिनका माध्यमबाट नोट नष्ट गरिनेछ । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ । कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे मेसिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताए ।

    बैंकको कार्यलाई आधुनिक एवं प्रविधियुक्त बनाउनका लागि बिएसबिएस मेसिनको प्रयोग उपयोगी बन्ने उनले बताए । यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकामा बिएसबिएस मेसिनको प्रयोगबाट त्यसलाई ससाना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने कार्यक्रममा जानकारी गराइयो ।