बन्दीपुर र बारपाकको पर्यटन प्रबर्द्धनका लागि मितेरी साइनो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर र बारपाकको पर्यटन प्रबर्द्धनका लागि मितेरी साइनो

    खबरपुञ्ज संवाददाता

    २० असार २०७९, मंगलवार

    दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रबद्र्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका छन् ।

    बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबद्र्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी, होटल व्यवसायी एकजुट भएका हुन् । बन्दीपुरमा सोमबार आयोजित पर्यटन व्यवसायी, होटल व्यवसायीहरुको छलफलले दुवै ठाउँमा पर्यटक भित्र्याउनका लागि सहकार्य गर्ने सहमति गरेको छ ।

    बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार बन्दीपुर र बारपाकलाई जोड्न मितेरी साइनो गाँस्ने निर्णय भएको जानकारी दिए । “बन्दीपुर तनहुँको पुरानो सदरमुकाम पनि रहेको र यसको ऐतिहासिक महत्व पनि छ, बारपाक पनि एउटा पर्यटकीय गाउँ हो, दुवै ठाउँलाई जोड्ने उद्देश्यले प्रचारप्रसार गर्ने, मितेरी साइनो गाँस्ने लगायतका विषयमा सहमति भएको छ,” उनले भने ।

    छलफलमा बन्दीपुरस्थित पर्यटन व्यवसायी, होटल व्यवसायी, बारपाकाका वडाध्यक्ष, पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागिता थियो ।

    बन्दीपुर आन्तरिक मात्रै नभई बाह्य पर्यटकको पनि गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए ।

    बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरहरुको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएको छ ।

    बारपाक प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ हो । बारपाक समुन्द्री सतहबाट दुई हजार मिटरमा अवस्थित छ । २०७४ सालको भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा अहिले घरहरु पुनर्निर्माण भइसकेको छ ।