व्यास नपाद्वारा लघुउद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नपाद्वारा लघुउद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७९, शुक्रबार

    दमौली । व्यास नगरपालिकाले स्थानीय उद्यमी एवं कृषकलाई प्रविधि हस्तान्तरण गरेको छ । लघुउद्यम कार्यक्रम (मेड्पा) मार्फत कृषकलाई सीप प्रदान गरी प्रविधि हस्तान्तरण गरिएको हो ।

    उद्यमीको मागबमोजिम चाउमिन मेसिन, चाउमिन मिक्स्चर, दुना टपरी मेसिन, हाते ट्र्याक्टर, सिलाइ मेसिन सहयोग गरिएको व्यास नगरपालिकाका उद्योग पर्यटन शाखा प्रमुख मेघनाथ आचार्यले जानकारी दिए । नगरपालिकाको ८० प्रतिशत अनुदान र समूहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए ।

    वडा नं १ स्थित थानीमाई लघुउद्यमी समूहलाई रु एक लाख ३५ हजार मूल्य बराबरको चाउमिन मेसिन र रु एक लाख २५ हजार मूल्य बराबरको चाउमिन मिक्स्चर सहयोग गरिएको छ । वडा नं ८ स्थित कालिका दुना टपरी लघु उद्यमी समूहलाई रु एक लाख २५ हजार बराबरको दुना टपरी मेसिन सहयोग गरिएको छ ।

    वडा नं १० स्थित मिलीजुली लघुउद्यमी समूहलाई रु ५८ हजार बराबरको हाते ट्याक्टर सहयोग गरिएको छ । वडा नं १० स्थित साझा लघुउद्यमी समूहलाई रु ७७ हजार बराबरको कुखुरा अटो ड्रिकर सहयोग गरिएको छ । वडा नं १० स्थित उद्यमशीलता लघुउद्यमी समूहलाई रु ६० हजार बराबरको कार वासर हेड प्रेसर वासर सहयोग गरिएको छ ।

    वडा नं १० कै कालीडाँडा होमस्टे लघुउद्यमी समूहलाई फिल्टर, डिस्पेन्सर, वडा नं ६ र ८ को सिर्जनशील लघुउद्यमी समूहलाई चापकटर र दाना बनाउने मेसिन सहयोग गरिएको छ । वडा नं ६ स्थित सुन्दरदेवी लघुउद्यमी समूहलाई सिलाइ मेसिन र मिलीजुली लघुउद्यमी समूहलाई सिलाइ मेसिन सहयोग गरिएको छ ।

    गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर उनीहरुलाई प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए ।

    नगरपालिकाले गत वर्ष वडा नं ६, ७, ८ र ९ तथा चालु आर्थिक वर्षमा वडा नं १, १० र १२ मा यो कार्यक्रम लागू गरेको थियो । “लघु उद्यम विकास कार्यक्रममार्फत उद्यमीलाई विभिन्न तालिम प्रदान गरेपछि प्रविधि हस्तान्तरण गरेका हौँ”, आचार्यले भने । चालु आर्थिक वर्षमा ९० उद्यमी सिर्जना गर्नुपर्ने लक्ष्य रहे पनि १०४ उद्यमी सिर्जना भएको उनले बताए ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले शुक्रबार उक्त प्रविधि हस्तान्तरण गरेका थिए ।