दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुवालथरमा आमाको कुटाइबाट छोरा घाइते भएका छन् । ३२ वर्षीया टिकादेवी नेपालीको कुटपिटबाट छ वर्षीय छोरा सागर नेपाली घाइते भएका हुन् ।
टिकादेवीले अगुल्टाले टाउकोमा पटक–पटक हानी छोरालाई घाइते बनाएकी हुन् । स्थानीय बासिन्दाले उक्त घटनाबारे शनिबार जानकारी पाएपछि प्रहरीलाई खबर गरेको घाइते बालकका आफन्त यामबहादुर परियारले बताए । प्रहरीले घाइते बालकको उद्धार गरेर उपचारको लागि शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल ल्याएको छ । बालकको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ ।
छोरालाई कुटपिट गर्ने आमा टिकादेवीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।