काठमाडाै । तनहुँकाे बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा नेतृत्वकाे टाेलीले मङ्गलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरेकाे छ । नगर प्रमुख प्रजापतिले बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाको नेतृत्वमा आएको उक्त टोलीलाई स्वागत गर्दै भक्तपुर नगरपालिकाको संक्षिप्त परिचयबारे जानकारी गराएका छन्।
प्रमुख प्रजापतिले उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचारजस्ता जनताका आधारभूत आवश्यकताका विषयहरु निःशुल्क, रोजगारीको सुनिश्चितता र आार्थिक समानता हुने राजनैतिक व्यवस्था नै समाजवादी व्यवस्था भएको उल्लेख गर्नुहुँदै भक्तपुर नगरपालिकाले आफ्ना नीति, योजना र कार्यक्रमहरु समाजवादी व्यवस्थाअनुरुप बनाउने प्रयत्न गर्दै आइरहेको बताए ।
उनले शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरूमा हाल ७२ जिल्लाका ७ हजारभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको, नपाले रु ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्नुका साथै भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषामा उच्च शिक्षा हासिल गर्ने पी. एच. डी. सम्मका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था समेत गर्दै आइरहेको बताए।
जर्मन सरकार र नेपाल सरकारबीच भक्तपुरको १० वटा सम्पदा पुनः निर्माणको लागि रु. १ अर्ब २० करोड (१ करोड युरो) अनुदान सम्झौता भएकोमा सम्झौतामा उल्लेखित शर्तहरु जनताको स्वाभिमानमा आँच पुग्ने देखेर त्यो रकम भक्तपुर नगरपालिकाले अस्वीकार गरेको उनले बताए ।
विदेशीको सहयोग विना भक्तपुरका जनताको साथ र सहयोगबाट २०७२ सालको भूकम्पले क्षति पु¥याएका १२४ वटा सम्पदाहरु पुनःनिर्माण र जिर्णोद्धार सम्पन्न गरिसकेको र दर्जनौं सम्पदाहरु पुनः निर्माणको क्रममा रहेको अवगत गराए ।
सोही क्रममा बन्दीपुरका अध्यक्ष थापाले बन्दीपुर गाउँपालिका गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्व बोकेको, १०२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका भएको बताउँदै भक्तपुर र बन्दीपुर एक अर्काका परिपूरक सहर भएको उल्लेख गरे ।
भक्तपुर र बन्दीपुरका कला, संस्कृति एक अर्कामा मिल्दाजुल्दा रहेको बताउँदै अध्यक्ष थापाले भक्तपुरबाट सिक्दै बन्दीपुर गापालाई सांस्कृतिक संरक्षित सहरको रुपमा विकास गर्ने उद्देश्य रहेको र बन्दीपुरका मुख्य मुख्य सडकहरुमा सवारीसाधन निषेध गर्दै ढुंगा छपाईको कार्यलाई जोड दिँदै आएको बताए।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा फोहरमैला व्यवस्थापनका क्षेत्रहरुमा गरिरहेको काम देशकै लागि उदाहरणीय भएको बताउँदै उनले भक्तपुरको विकासबाट आफूहरुलाई निकै ऊर्जा र प्रेरणा मिलेको र बन्दीपुरलाई पनि भक्तपुरजस्तै सुन्दर सहरको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।