बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित वडा कार्यालयबाट एकैदिनमा शुक्रबार रु १६ लाख ५६ हजार भन्दा बढी राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष ०७८÷७९ को कार्यालय खुल्ने अन्तिम दिन शुक्रबार वडा कार्यालयमार्फत् कर सङ्कलनको व्यवस्था मिलाइएकामा रु १६ लाख ५६ हजार एक सय २० राजश्व सङ्कलन भएको हो ।
व्यवसायीको आग्रहमा वडा कार्यालयबाटै राजश्व सङ्कलनको व्यवस्था मिलाइएको वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। “बन्दीपुर गाउँपालिका–१ डुम्रे र बन्दीपुर गाउँपालिका–४ विमलनगर क्षेत्रका उद्योगी, व्यवसायीको सहजताका लागि एकदिनका लागि वडा कार्यालयबाटै राजश्व सङ्कलनको व्यवस्था मिलाएका थियौ,” वडाध्यक्ष श्रेष्ठले भने।
अन्य समयमा गाउँपालिकाको कार्यालयमै पुगेर राजश्व तिर्नुपर्ने व्यवस्था भएपनि आर्थिक वर्षको मसान्त भएकाले सहजताका लागि वडाबाट राजश्व सङ्कलन गर्ने व्यवस्था मिलाइएको थियो । “शुक्रबार र आर्थिक वर्षको कार्यालय खुल्ने अन्तिम दिन भएकाले गाउँपालिकासम्म पुग्न व्यवसायीलाई झण्झट नहोस् भन्नका लागि यो व्यवस्था मिलाइएको थियो,” श्रेष्ठले भने।
बजार क्षेत्रमा रहेका बैङ्क तथा वित्तीय संस्थाबाट घरबहाल करबापत रु चार लाख ३५ हजार चार सय ५० सङ्कलन भएको छ । व्यवसाय लगायत अन्य करबापत रु १२ लाख २० हजार छ सय ७० सङ्कलन भएको छ ।
घरबहाल कर बापत अघिल्लो आर्थिक वर्ष ०७७÷७८ र चालु आर्थिक वर्ष ०७८÷७९ को राजश्व सङ्कलन भएको हो । व्यवसाय करमा भने गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।
वडाबाटै राजश्व तिर्ने व्यवस्था भएपछि व्यवसायीलाई सहज भएको यहाँका व्यवसायीले बताएका छन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न चेतावनी दिइएकाे छ ।