खाद्य डिभिजनद्वारा ६ उद्योग विरुद्ध मुद्धा, १९० खाद्यको नमूना सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    खाद्य डिभिजनद्वारा ६ उद्योग विरुद्ध मुद्धा, १९० खाद्यको नमूना सङ्कलन

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७९, बिहीबार

    दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले एक वर्षको अवधिमा छ वटा उद्योग विरुद्ध मुद्धा दर्ता गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८÷७९ मा तनहुँ, गोरखा र नवलपुरका छ उद्योग विरुद्ध मुद्धा दर्ता गरेको हो ।

    अनुगमनका क्रममा कैफियत देखिएका तनहुँका तीन, गोरखाका दुई र नवलपुरका एक उद्योग विरुद्ध मुद्धा दर्ता गरिएको डिभिजन प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिनुभयो । कार्यालयले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कृष्ण पाउरोटी उद्योग, भिमाद नगरपालिकास्थित अभिषेक बेकरी उद्योग, ग्लोबल एग्रो प्रोडक्ट्स, गोरखास्थित क्षितिज पुष्टकारी उद्योग, कुंवर एण्ड ब्रदर्श गु्रप र नवलपुरस्थित सरस्वती डेरी उद्योग विरुद्ध मुद्धा दर्ता भएको छ ।

    कृष्ण पाउरोटी उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा २०७८ साउन २७ गते मुद्धा दर्ता गरिएकामा रु पाँच हजार जरीवाना भएको छ । अभिषेक बेकरी उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँमा २०७८ माघ २८ गते मुद्धा दर्ता गरिएकामा रु सात हजार पाँच सय जरीवाना भएको छ ।

    क्षितिज पुष्टकारी उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा २०७९ वैशाख १९ गते मुद्धा दर्ता भएकामा रु एक हजार, ग्लोबल एग्रो प्रोडक्टस् विरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँमा २०७८ पुस ५ गते मुद्धा दर्ता भएकामा रु ३० हजार, सरस्वती डेरी उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय नवपुरमा २०७८ असोज १७ गते मुद्धा दर्ता भएकामा रु तीन हजार जरीवाना भएको छ ।

    कुंवर एण्ड बद्रर्श गु्रप विरुद्ध गोरखा जिल्ला अदालतमा २०७९ वैशाख २१ गते मुद्धा दर्ता भएकामा फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ । २० वटा मुद्धा सङ्ख्या भने अनुसन्धानका क्रममा रहेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

    कार्यालयले सोही अवधिमा खाद्य ऐन नियम बमोजिम एक सय ९० वटा खाद्यको नमूना सङ्कलन गरेको छ । सङ्कलित नमूना भैरहवास्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

    दूध तथा दूध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फल तथा सागपातका २६, मसलाका १४, चिया कफीका १४, नूनका २, खाद्यान्न, दलहन र सोबाट बनेका खाद्यका ४४, प्रशोधित पिउने पानीको १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयले एक वर्षको अवधिमा खाद्य निरीक्षकको नेतृत्वमा एक सय ४५ वटा खाद्य तथा दाना बजारको अनुगमन गरेको छ । खाद्य तथा दाना उद्योग एक सय चार, होटल रेष्टुरेण्ट ९७ पटक गरिएको छ । संयुक्त रुपमा खाद्य तथा दाना बजारको ३५, खाद्य तथा दाना उद्योगको १६ र होटल रेष्टुरेण्टको २२ पटक अनुगमन गरिएको छ ।

    कार्यालयले चाडपर्वका बेलामात्र नभई अन्य समयमा पनि नियमित रुपमा बजार अनुगमन गर्दै आएको पोख्रेलले बताउनुभयो । “अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि सङ्कलन गर्छौ, सङ्कलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरिएको छ ।”

    खाद्य ऐन, २०३३ ले दिएको अधिकार अनुसार नियमित रुपमा कार्यक्षेत्रभित्रका जिल्लाहरुमा अनुगमन भइरहेको पोख्रेलले बताउनुभयो । कार्यालयको कार्यक्षेत्र तनहुँ, लमजुङ, गोरखा, मनाङ र नवलपुर हो ।

    कार्यालयले अनुगमका साथसाथै खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठि, वडास्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ भने होटलको वर्गीकरणको काम पनि गर्दै आएको छ । कार्यालयले उपभोग्य मिति समाप्त भएका वा हुन लागेका खाद्य पदार्थहरुको सञ्चयन तथा विक्री वितरण नगर्न, बढी रङ्गिन, सडगलेका, झिङ्गा भन्केका फोहर अस्थामा राखिएका खाद्य पदार्थ प्रयोग नगर्न, सडक पेटीमा खुल्ला अवस्थामा राखी कुनै पनि खाद्य पदार्थ विक्री वितरण नगर्न सम्बन्धित सबैलाई सचेतना जगाउँदै आएको छ ।

    कार्यालयले एक वर्षको अवधिमा चार पटक खाद्य उद्योगीहरुलाई स्वच्छता र गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठि, दुई पटक खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी स्थानीय तह र सरोकारवालासँग अन्तरक्रिया गरेको जनाएको छ ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।