म्याग्दे । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी सेवा प्रवाह विषयक प्रशिक्षण कार्यक्रमले जनप्रतिनिधिको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएको बताएका छन् ।
गाउँपालिकाको आयोजना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको समन्वयमा भएको सो अभिमुखीकरण कार्यक्रममा अधिकारीले उक्त कुरा बताएका हुन् ।
जनप्रतिनिधि जनताका आम समस्यासँग केन्द्रित हुनुपर्ने तर कानून र विषयको ज्ञान नहुँदा कार्यसम्पादनमा समस्या परेको उनले बताए । कानुनको अज्ञानताले जनताको सानो सानो समस्या पनि समाधान गर्न सकेका नसक्दा सेवाग्राहीको गुनासो बढ्ने सक्ने उनको भनाई छ।
कार्यक्रममा जनप्रतिनिधिहरुलाई स्थानीय विकास प्रतिष्ठानका उपनिर्देशक हरिकृष्ण कोईराला, व्यवस्थापक अधिकृत उदयनाथ खनाल लगायतले स्थानीय सरकार संचालन कार्यविधि सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अभिमुखीकरण फलदायी भएको बताए । ‘स्थानीय सरकारको अधिकार, यसको क्षेत्राधिकार र कार्यदेश अभिमुखीकरणबाट प्रष्ट भएको छ । अब यसको सफल कार्यन्वयन नै हाम्रो मार्गचित्र बन्नेछ,’ उनले भने ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले नयाँ जनप्रतिनिधिलाई तालिमले सहजता थपेको बताए । ‘अन्यौलतामा रहेका जनप्रतिनिधिका लागि यो कार्यक्रमले नयाँ उर्जा थपेको छ,’ उनले भने ।
सो अवसरमा योजना तर्जुमा, मध्यमकालिन खर्च संरचना, सकारात्मक सोच र स्थानीय तहमा सुशासन प्रबर्दन, असल अभ्यास, संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्वन्ध, स्थानीय तहको राजश्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण, सार्वजनिक खरिद, बस्ती विकास योजना लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।