चितवन । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएकी थिइन् । गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य सस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याइएको थियो । बालकको थप उपचारका लागि पत्रकार सुवास पण्डितले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालले बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएकोे जानकारी दिए । बालकको घाँटीमा गम्भीर चोट लागेको थियो । “श्वासनली र रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण बालकलाई बचाउन सकिएको हो” उनले भने, “चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुखजस्ता महत्वपूर्ण अङ्ग क्षति हुनबाट जोगिएको रहेछ , श्वासनली र घाँटी हुँदै रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको हो ।”
अस्पतालमा कार्यरत चिकित्सक त्रय सुरेशराज शर्मा, सुमित अधिकारी र नवीनकृष्ण यादव शल्यक्रिया सम्लग्न थिए । उनीहरुका अनुसार बालकको घाँटीमा मल्टिपलपञ्चर (ठाउँ–ठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो । देव्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ ।
बालकका बाबु सुवास परियारले शल्यक्रिया सफल भएकामा खुशी व्यक्त गरे । उनका अनुसार गत बुधबार साँझ ५ः३० बजेको समयमा आँगनमा खेलिरहेका सुलभलाई चितुवाले लगेको थियो । घरभित्र र पिँढीमा घरका अन्य सदस्य भइरहेको समयमा चितुवाले लगेको उनको भनाइ छ । चितुवाले ५० मिटर माथिसम्म पु¥याएको थियो ।