दमौली । दमौलीमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा आइतबार पॉच खेल सम्पन्न भएका छन् । व्यास-४ सितलचोक युवा क्लवको आयोजनामा फुटबल खेल सञ्चालनमा छ ।
पहिलो खेलमा नवयुवा क्लबले चापाकोट युनाइटेडलाई ३–२ ले हरायो । नवयुवाका लागि सन्तोष गुरुङले दुई गोल गरे भने अजित लामाले एक गोल गरे । उता पराजित चापाकोटका लागि अमित घर्ती र सफल आचार्यले गोल फर्काएका थिए ।
दोस्रो खेलमा दोभान युथ क्लबले हैरान्स क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । तेस्रो खेलमा काहुमिलन युथ क्लबले नवदिप युथ क्लबलाई २–० ले हरायो ।
चौथो खेलमा व्यास युवा समाजले भादगाउँ एफसीलाई टाईब्रेकरमा ४–३ ले हरायो । पाँचौ खेलमा न्यु बुद्ध भानुले बयरघारी स्याङ्जालाई ३–१ ले हरायो ।
प्रतियोगितामा विजेतालाई नगद दुई लाख दुई हजार दुई सय २२ र उपविजेतालाई एक लाख ११ हजार एक सय ११ प्रदान गरिनेछ ।