दमाैली । हरितालिका तीज पर्वको अवसरमा तनहुँका दुई स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले हरितालिका तीज पर्वको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
व्यास नगरपालिका तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र अन्य सङ्घसंस्थामा भदौ ७ गतेको बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
यसैगरी शुक्लागण्डकी नगरपालिकाले पनि तीजको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, सबै विद्यालय र नगरपालिकाभित्र सञ्चालित बैङ्क तथा वित्तीय संस्थामा बिदा रहने जनाइएको छ ।
नगरप्रमुख कृष्णराज पण्डितले हरितालिका तीजको शुभकामना दिँदै सभ्य रुपमा तीज मनाउन आग्रह गरेका छन् ।