दमौली । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई आदिकवि भानुभक्त क्याम्पसको साधारणसभामा सहभागी भएको विषयलाई लिएर व्यङ्ग्य गरेका छन् ।
नेपाली कांग्रेस स्वतन्त्र समूहले आइतबार डुम्रेमा आयोजना गरेको कार्यक्रममा जोशीले क्याम्पसमा एक पैसाको योगदान नभएको व्यक्ति गएर भाषण गर्नु सुहाउँदो विषय नभएको बताए। ‘जसको एक पैसाको योगदान छैन उही गएर भाषण गर्न त ऑट पनि नआउनुपर्ने हो,’ उनले भने ।
क्याम्पसको स्थापनाकर्ता आफूहरु भएको भन्दै उनले आफूले क्याम्पसमा निशुल्क पढाएको समेत उल्लेख गरे । जोशीले आदिकविलाई सरकारी बनाउन आफू शिक्षामन्त्री हुँदा प्रयास गरेपनि केही तत्वले त्यसलाई रोकेको बताए।
तनहुँ-१ मा आफू यसपटक उम्मेदवार बन्ने भन्दै चोक-चोकमा, चिया पसलमा प्रचार गर्न जोशीले आग्रह गरे । ‘तपाईहरु किन डराउनुहुन्छ, खुलेर लाग्नुस्,’ उनले भने । कांग्रेसमा दम्भ बढेकाले सुधार आवश्यक रहेको उनको भनाई थियो ।