टेलिकमले भोलिदेखि निःशुल्क इ–सिम वितरण गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    टेलिकमले भोलिदेखि निःशुल्क इ–सिम वितरण गर्ने

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७९, बिहीबार

    काठमाडौ । नेपाल टेलिकमले शुक्रबारदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो ।

    इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ ।

    नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ ।

    इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

    इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिने प्रवक्ता अधिकारीले जानकारी दिए ।