म्याग्दे । म्याग्दे गाउँपालिका–७ को नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त भवनको उद्घाटन गरेका हुन् ।
भमर रोपनी ६ आनामा बनेको वडा कार्यलयको लागत रु ३९ लाख ४३ हजार नौ सय ९० रहेको छ । देउराली विल्डर्सले प्रालिले भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रेष्ठले पालिकाभित्र अनियमितता र भ्रष्टाचार हुन नदिने बताए । उनले टुक्रे योजनालाई समृद्धि सम्भव नभएकाले ठूला योजनालाई प्राथमिकता दिइने बताए ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले विकास निर्माण योजना आवश्यकताका आधारमा ईमान्दारितका साथ गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काग्रेस म्याग्देका सभापति रामभक्त घिमिरे, माओवादी केन्द्रका वालकृष्ण श्रेष्ठ, समाजवादीका विष्णुकुमार श्रेष्ठ, वडा नं ७ का पूर्व वडाध्यक्ष पदमराज वाग्ले लगायतले बोलेका थिए ।
१७ वटा टोल रहेको वडामा कार्यालय भवन नहुँदा सेवाग्राहीलाई सेवा दिन नसकेको सन्दर्भमा नयाँ भवन निर्माण पछि जनतालाई थप सर्वसुलभ रुपमा सेवा दिन सकिने वडाध्यक्ष बसन्त श्रेष्ठले बताए ।