चाडपर्वमा नियमित बजार अनुगमन गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चाडपर्वमा नियमित बजार अनुगमन गरिने

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७९, शुक्रबार

    दमौली । नेपालीहरुको महान् पर्व दसैंतिहार नजिकिएसँगै बजार अनुगमनलाई तीव्र पारिने भएको छ । नजिकिदै गरेको दसै, तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा उपभोक्ता ठगिन सक्ने सम्भावना भएकाले बजार अनुगमनलाई तीव्र पारिन लागिएको हो ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै पालिकाहरुले आ–आफ्नो क्षेत्रभित्र नियमित बजार अनुगमन गर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालय कार्यालयलाई गराउने निर्णय भएको छ ।

    अनुगमनका क्रममा भेटिएका प्रयोग गर्ने अवधि समाप्त भइसकेका सामग्रीलाई तत्काल नष्ट गर्न, नमूना परीक्षण गर्नुपर्ने भएमा आवश्यक प्रक्रिया पुरा गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा पठाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

    अनुगमनका क्रममा कुनै व्यक्ति, फर्म वा व्यवसाय सञ्चालकलाई कारवाही गर्नुपर्ने भएमा सहायक प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने निर्णय भएको छ ।

    उद्योग वाणिज्य सङ्घ, नगर उद्योग वाणिज्य सङ्घहरु, यातायात व्यवसायी सङ्घ तथा मासु व्यवसायी सङ्घहरुले आन्तरिक संयन्त्र बनाई आफ्ना सदस्यहरुको नियमित अनुगमन गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकालाई गराउने निर्णय भएको छ ।

    दसैं, तिहार जस्ता चाडपर्व नजिकिदै गर्दा विभिन्न ठाउँबाट शहरी क्षेत्रमा खसी, बोका र च्याङ्ग्रा बेच्नका लागि ल्याउने तर व्यवस्थित तवरले राख्ने ठाउँ नभएकाले दुर्गन्धित हुने हुँदा त्यसका लागि छुट्टै ठाउँको व्यवस्था मिलाउने निर्णय भएको छ ।

    चाडपर्वका बेला खाद्य लगायत अन्य कुनै पनि सामग्रीको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, नगर उद्योग वाणिज्य सङ्घहरुले सम्बन्धित सबै निकायहरुसँग सहकार्य गरी अभाव हुन नदिने व्यवस्था मिलाउने निर्णय भएको प्रशासन कार्यालयले जनाएको छ ।

    नागरिकहरुको सहज र भरपर्दो यात्रा सुनिश्चत गर्न, तोकिएको भाडादरमै यात्रा गर्न पाउने व्यवस्था गर्न, सिट क्षमताभन्दा बढी यात्रु नराख्न, चाडवाडका बेला हुने धेरै भिडभाड व्यवस्थापन गर्न नागरिक सहायता कक्ष स्थापना गरी ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले संयुक्त रुपमा अनुगमन गर्ने निर्णय भएको छ ।