दमौली । “दशैंका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर त्यस्तो भएन, आफन्त आउनुभयो, टीका लगाइदिनुभयो,” तनहुँ कारागारमा जेल सजाय भोगिरहनुभएका एक कैदीबन्दीले खुशी हुँदै भने, “कारागारमै हुँदा पनि दशैंको टीका लगाउन पाएँ खुशी लागेको छ ।”
कारागारमै रहेका अर्का एक कैदीले पनि दशैं टीका लगाउन पाएकामा खुशी व्यक्त गरे । “कारागारमै टीका लगाउन पाउँदा घरमै बसेर दशैं मनाए जस्तो भयो,” उनले भने
तनहुँ कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएका छन् । कोभिड–१९ को सङ्क्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन् । विगत दुई वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो ।
कारागार प्रशासनले यो वर्ष कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो । “यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हौ,” कारागारका निमित्त प्रमुख नारायण अधिकारीले भने, “आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुशी भएका छन् ।”
बिहानैदेखि झरी परेपनि कैदीबन्दीका आफन्त कारागारमा आएर टीका लगाइदिएका छन् । “झरीका कारण केही समस्या हुन्छ की जस्तो लागेको थियो, तर त्यस्तो भएन, सौहार्दपूर्ण रुपमा टीकाको कार्यक्रम सम्पन्न भयो,” अधिकारीले भने । तनहुँ कारागारमा १२ महिला सहित दुई सय ८७ कैदीबन्दी छन् ।
यसैबीच नेपाली सेनाको कालीभञ्जन गण (इ), जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी मनकामना बल भानुमा पनि सामूहिक टीका लगाइएको छ । सुरक्षा निकायमा कार्यरत सेना तथा प्रहरीलाई प्रमुखले टीका लगाइदिएका थिए ।