नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मी च्याम्पियन (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मी च्याम्पियन (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७९, बुधबार

    दमाैली । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलमा त्रिभुवन आर्मी क्लव च्याम्पियन बनेको छ । तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा बुधबार सम्पन्न फाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव बास्केटबलमा च्याम्पियन बनेको हो ।

    त्रिभुवन आर्मी क्लवले बागमती प्रदेशलाई ४५–३० अङ्कले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक रुपमा भएको खेलमा आर्मीले पहिलो क्वाटरमा १०–८, दोस्रो क्वाटरमा १४–७, तेस्रो क्वाटरमा ८–१२ र चौथो क्वाटरमा १३–३ अङ्क प्राप्त गरेको थियो ।

    त्रिभुवन आर्मीको जितमा प्रतिक्षा मगरले सबैभन्दा बढी व्यक्तिगत ११ अङ्क जोडिन । बागमतीका तर्फबाट अनुशा मल्ल ठकुरीले व्यक्तिगत आठ अङ्क जोडेकी थिइन् ।

    उपाधिसँगै त्रिभुवन आर्मी क्लवले महिला बास्केटबलमा एक स्वर्ण पदक जितेको छ । च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लवलाई नवौं खेलकुदको ट्रफी प्रदान गरिएको छ । साथै विजेता बनेको आर्मीका प्रति खेलाडीलाई नगद रु १५ हजार प्रदान गरिएको छ ।

    उपविजेता बनेको बागमती प्रदेशले रजत पदक जितेको छ । त्यस्तै गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरेको छ । तेस्रो स्थानका लागि बुधबार नै भएको खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको थियो ।

    गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ४६–२४ अङ्कले पराजित गरेको छ । गण्डकीले पहिलो क्वाटरमा १६–९, दोस्रो क्वाटरमा १०–४, तेस्रो क्वाटरमा १२–७ र चौथो क्वाटरमा ८–४ अङ्क जोडेको थियो ।

    गण्डकीको जितमा सीमा गर्बुजाले व्यक्तिगत १९ अङ्क जाेडिन् भने सुदुरपश्चिमका तर्फबाट सम्झना शाहीले सात अङ्क जाेडिन् ।

    विजेताहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे, नेपाल बास्केटबल सङ्घका सचिव फणिन्द्रमान श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।