दमौली । तनहुँको भानु नगरपालिका-१३ तीनघरेका राजु अधिकारीलाई नेपालको सबै जिल्लाका सदरमुकाम पुग्ने इच्छा जाग्यो । विगत १७ वर्षदेखि अमेरिकाको मिचिगन राज्यमा बसोबास गर्दै आएका अधिकारीले नेपाललाई विश्वमाझ चिनाउने सोच सहित नेपालको सबै जिल्लाको सदरमुकाम पुग्ने अभियान सुरु गरे ।
अधिकारीको अभियान सुरु भयो व्यास-५ मानुङकोटबाट । विसं २०७२ असारमा उनले मानुङकोटबाट यात्रा सुरु गरे। मानुङकोटबाट दमौली हुँदै कास्कीको पोखरा, गोरखा हुँदै यात्रा सुरु भयो । ‘नेपाललाई कसरी हुन्छ विश्वमाझ चिनाउँछु भन्ने लक्ष्य राखेर यो अभियान सुरु गरेको हुँ,’ उनले भने, ‘सात वर्षको अवधिमा सबै जिल्लाको सदरमुकाम पुगेर अभियान टुंगिएको छ ।’
विसं २०७९ कात्तिक २ गते हुम्लाको सदरमुकाम सिमीकोट पुगेपछि अधिकारीले ७७ वटै जिल्लाको सदरमुकाम पुगेका छन्। हुम्ला अघि अधिकारी संखुवासभाको खॉदवारी, डोल्पाको दुनै पुगेका थिए ।
अधिकारी अमेरिकाको चर्चित कम्पनी ‘डनकिन’ को सञ्चालक हुन् । सफल व्यवसायी अधिकारीले नेपाली तथा अन्य धेरैलाई रोजगारी दिएका छन् ।