स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०७९, आईतवार

    पाेखरा । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आइतबार पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आशन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरे।

    आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले स्पष्ट गरे।

    आयुक्त भण्डारीले भने, ‘स्पष्टीकरण सोध्नु नै आचारसंहिता उल्लंघनकर्तालाई कारबाही भएको नभई निज विरुद्ध परेको उजुरीमा प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाइको मौका दिइएको र मौकामा प्रतिक्रिया पेश गरेपछि आयोगले संकलन गरेको प्रमाण र निजले पेश गरेको प्रतिक्रियालाई विश्लेषण गरी आयोगबाट हुने निर्णयलाई मात्रै निजलाई हुने कारबाही ठहर हो ।’ उहाँले त्यसपछि मात्रै आचारसंहिता उल्लंघनकर्तालाई कसुरदार ठहर गर्ने वा सफाइ दिने निर्णय मात्र अन्तिम निर्णय भएकाले यसलाई राम्रोसँग बुझ्न आग्रह गर्नुभयो ।

    गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन होला कि नहोला भन्ने आशंकाबीच सञ्चार जगतले निरन्तर निर्वाचनका पक्षमा खबरदारी गरेका कारण तोकिएको मितिमा अभूतपूर्व रूपमा निर्वाचन सम्पन्न हुन सकेको उनले बताए । निर्वाचन आयोगले संविधान, कानून, ऐन, नियम, निर्देशिका मात्रै चिन्ने बताउँदैआयुक्त भण्डारीले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन लागू गरिने बताए ।

    सञ्चारकर्मीहरूले सम्प्रेषण गर्ने समाचार हरेक मतदाताको हातहातमा पुग्ने भएकाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सहयोग पुग्ने समाचार सम्प्रेषण गर्न आयुक्त भण्डारीले आग्रह गरे । सञ्चारमाध्यमका लागि उम्मेदवारी मनोनयन गराएका सबै उम्मेदवार बारबार हुने भएकाले कसैको पक्ष वा विपक्षमा समचार सम्प्रेषण नगर्न आग्रह गरे।

    सामाजिक सञ्जालमार्फत प्रवाह हुनेसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यस्ता अभिव्यक्तिलाई सञ्चारमाध्यमले स्थान दिन नहुने उनले बताए ।