घोषणा हुन मात्र बाँकी छ, चुनाव त जितिसकेको छु : किसान श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    घोषणा हुन मात्र बाँकी छ, चुनाव त जितिसकेको छु : किसान श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०७९, बुधबार

    बारा । बारा निर्वाचन क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठ आफूले निर्वाचन जितिसकेको तर घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।

    नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठ अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका थिए । यो पटक तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार बनेपछि श्रेष्ठ बारा–४ बाट गठबन्धनका साझा उम्मेदवार बनेका हुन् । श्रेष्ठ तनहुँबाट बारा पुगेपछि कतिपयले उनलाई पर्यटक उम्मेदवार समेत भनेर टिप्पणी गर्ने गरेका छन् । तर यो टिप्पणीलाई श्रेष्ठ खण्डन गर्छन् ।

    ‘म बारामा २०७०/७१ सालदेखि सामाजिक व्यावसायिक रूपमा सक्रिय छु, जहाँ मेरो वर्षौँदेखि आफ्नै घर छ र बसिरहेको छु’, श्रेष्ठ भन्छन्,‘कांग्रेस नेता समेत रहेका रामचन्द्र पौडेलले तनहुँ १ बाट निर्वाचन लड्ने इच्छा व्यक्त गरेपछि मैले स्वेच्छाले नै त्यहाँ छोडेको हो ।’

    उनले आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनमा सामेल रहेको र गठबन्धनका शीर्ष नेताहरूको सल्लाह र सुझाव अनुसार नै आफू बारामा निर्वाचन लड्न पुगेको बताए । श्रेष्ठले आफूले बारामा उम्मेदवारी दर्ता गर्नुअघि नै बाराका स्थानीय जनप्रतिनिधि र स्थानीय जनताले बाराबाट निर्वाचन लड्न अनुरोध गरेको समेत बताए ।

    ‘मेरो उम्मेदवारी अघि नै यहाँका मेयर, वडाध्यक्ष र विभिन्न पार्टीका नेताहरूले मलाई बारामा आउन आग्रह गर्नुभएको थियो’, उनले भने, ‘तनहुँ छोडेर यहाँ आउनुमा यहाँका जनतालाई विश्वास गर्नु पनि हो ।’

    उनले जनताको अपार विश्वास पाएकाले आफू जित्नेमा ढुक्क रहेको समेत बताए । ‘निर्वाचनको नतिजा घोषणा गर्न मात्रै बाँकी छ । चुनाव त मैले जितिसकेको छु’, चुनावी प्रचारप्रसारका क्रममा बारामा भेटिएका श्रेष्ठले भने ‘बाराका जनताले कास्ट र क्यास होइन विकास हेर्छन् ।’ यो क्षेत्रमा नेकपा एमालेले एकवाल मियाँलाई उम्मेदवार बनाएकाले श्रेष्ठको प्रतिस्पर्धा मियाँसँगै हुने देखिएको छ । (रातोपाटी)