दमौली । आचारसंहिता विपरित दमौलीमा नेपाली कांग्रेसले मोटरसाइकल र्याली निकालेको छ । निर्वाचनका बेला सवारीसाधन प्रयोग गरेर र्याली निकाल्न नपाइने भएपनि बिहीबार सॉझ दमौलीमा मोटरसाइकल र्याली निकालिएको हो ।
प्रहरीकै स्कर्टिङमा र्याली गरेर आचारसंहिताको धज्जी उडाइएको छ । निर्वाचन आचारसंहिताअनुसार कुनै प्रकारको सवारीसाधनको प्रयोग गरेर र्याली गर्न पाइँदैन।
यद्यपि, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा आचारसंहिता उल्लंघन गरेर र्याली गरिएको छ। ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचार गराउन नहुने,’ निर्वाचन आचारसंहिता २०७९ को दफा १३ (द)मा भनिएको छ।
यस्तै, निर्वाचन आचारसंहिताको दफा १३ (घ)मा जुलुस वा आमसभामा भेला हुने वा प्रचार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिह्न वा झन्डाअंकित लोगो वा स्टिकर वा कपडा, टोपी या क्याप, भेस्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ।