ऑबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पन्ध्र शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई सेवा विस्तार गरी अस्पतालमा रुपान्तरण गरिएको हो ।
स्वास्थ्य चौकीलाई विस्तार गरी मेडिकल अधिकृत सहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा प्रदान गरिनेछ । अस्पतालमा एक जना एमडिजीपी डाक्टरको व्यवस्था गरिएको छ ।
अस्पतालको बिहीबार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष चुमानले निर्वाचनका बेला आफूले गरेको एउटा प्रतिबद्धता पूरा गरेको बताए । “निर्वाचनका बेला जनतामाझ जाँदा मैले यो प्रतिबद्धता पूरा गरेको थिएँ, आज प्रतिबद्धता पूरा गरेको छु,” चुमानले भने ।
हाल स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर लगायतका सेवा प्रवाह भइरहेको छ । गाउँपालिकावासीलाई सहज र सरल रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको चुमानले बताए । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरा लगायतका ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवती महिलालाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिनेछ । “अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौ,” उनले भने ।
गाउँपालिकाले केही समय अगाडी स्वास्थय मन्त्रालयसँग एक थान एक्सरे मेसिन, एक थान अल्ट्रा साउण्ड मेसिन, एक थान ग्रामीण अल्ट्रा साउण्ड मेसिन, एक थान डिजिटल एक्सरे मेसिन, पाँच थान क्यासेट, एक थान इसिजि मेसिन, पाँच थान डायलासिसका लागि आवश्यक पर्ने मेसिन, एक थान अटो एनालाइजर माग गरेको थियो ।
माग गरेबमोजिम आइसिजि लगायत केही सामग्री प्राप्त भइसकेको र केही सामग्री प्राप्त हुने आश्वासन पाएको चुमानले बताए । गाउँपालिकाले अस्पतालबाटै मिर्गाैला बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ ।
गाउँपालिकाले एक वडा ः एक स्वास्थ्यचौकीको निर्माण कार्य सम्पन्न गर्ने गरी प्रक्रिया अगाडी बढाउनेछ । जसका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने चुमानले बताए ।
गाउँपालिकाले क्यान्सर बिरामीलाई एक पटकका लागि रु ५० हजार नगद सहयोग गर्ने नीति पारित गरेको छ । गाउँपालिकाले निजी, विभिन्न समूह र सङ्घसंस्थाको सहयोगमा वृहत उपचार तथा कोषको स्थापना गरिने चुमानले बताए । “निश्चित कार्यविधि बनाई जटिल रोगको उपचार तथा विपद् तथा जोखिममा परेका पालिकाभित्रका व्यवसायी, व्यापारी तथा नागरिकको उद्धार तथा राहत कार्य अगाडी बढाउँछौ,” चुमानले भने ।