पोखरा । राजनीतिज्ञ कम, उनी गुरुङ फिल्मका हिरो र निर्देशकको रुपमा परिचित थिए । २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनले ‘गाउँपालिका अध्यक्ष’ उनको परिचयमा थपियो । ४७ बर्षीय वेदबहादुर गुरुङ ‘श्याम’ ९८४ मतान्तरसहित कास्कीको मादी गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।
पाँच बर्षको कार्यकाल सकिएपछि दोस्रो कार्यकालमा उनलाई नेकपा एमालेले दोहो¥याएन । उनलाई एमालले गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की १ ‘ख’ को टिकट थमायो । चर्चा हुन्थ्यो, ‘श्याम रेड जोनमा छन् । चुनाव जित्नलाई मुस्किल छ ।’
एमालले पनि कास्कीका ६ प्रदेश सभा निर्वाचन क्षेत्रमध्य बेदबहादुर उम्मेदवार भएको क्षेत्रलाई चुनाव जित्न कठिन भन्दै रेड जोनको सुचीमा राखेको थियो । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा गठबन्धन दलले वडाध्यक्षमा एमालेले भन्दा साढे ५ हजार बढी मत ल्याएकाले एमालले रेड जोन भनेको हो । तर, रोड जोनमा चुनाव लडेका उनै श्यामले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’ लाई ८६७ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभाको यात्रा तय गर्न सफल भएका छन् । श्यामले १२ हजार ६६१ मत ल्याएर विजयी हुदाँ कांग्रेसका माइलाले ११ हजार ७९४ मतका साथ पराजित भए ।
श्यामसँग पराजित माइला २०७४ सालमा भएको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका–१३ को वडा सदस्यमा ४४ मतान्तरले पराजित भएका उम्मेदवार हुन् । वडा सदस्यमा जनताले नपत्याएका माइलालाई कांग्रेसले प्रदेश सभाको टिकट त पत्यायो । तर, उनलाई जनताले फेरि पत्याएनन् ।
यो क्षेत्रमा ५२ हजार २७० मतदाता रहेकोमा ३१ हजार ५४४ मत खसेको थियो । ९६३ मत बदर भयो । राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६५६, हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले १ हजार ५४९, मंगोल नेशनल अर्गनाइजेशनका ख्यामबहादुर गुरुङले ४५८, जनता समाजवादी पार्टीका हर्कबहादुर गुरुङले ३६२ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेसका वामपन्थी छोरा
श्याम २०४५ सालदेखि राजनीतिक यात्रामा होमिएका हुन्, जतिबेला उनी कक्षा ८ मा पढ्दै थिए । अखिलबाट राजनीतिमा लागेका उनी २०४६ सालको आन्दोलनमा सहभागि भएर पञ्चायत विरुद्ध लडे । श्यामका बुवा टेकशाही गुरुङ गाउँको विद्यालयका हेडमास्टर थिए । २०४८ सालमा गुरुङ नेपाली कांग्रेसका तर्फबाट तत्कालिन नामर्जुङ गाबिसको अध्यक्ष बने । कांग्र्रेसी परिवारका वेदबहादुरले घरबाटै विद्रोह गर्दै वामपन्थी राजनीतिमा क्रियाशिल भए । उनले कम्युनिष्टका झण्डा फहराउदैँ गाउँगाउँमा पर्चा बाँड्दै हिन्थे । बुबा मात्र नभएर उनका काका मेजर दिपक गुरुङपनि कांग्रेसका पूर्वसांसद थिए ।
२०६४ सालमा एमाले कास्की जिल्ला कमिटी सदस्य बनेका उनी २०६६ मा नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य हुँदै २०६८ सालदेखि नेकपा एमालेको गण्डकी अञ्चल कमिटी सदस्य बने । २०७४ सालपछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हुँदै प्रदेश कमिटी सचिवालय सदस्यसमेत भएर काम गरे । नेपाल लोकतान्त्रिक तमु संघको सस्थापक संयोजक, संस्थापक महासचिव हुँदै हाल अध्यक्ष छन् । उनले २०५२ सालदेखि गुरुङ चलचित्रमा पाइला टेके । गुरुङ चलचित्र ‘कुहिरो भित्र’ बाट अभिनय थालेका उनले गुरुङ फिल्ममा हिरोको भुमिका मात्रै ननिभएर निर्देशकसँगै निर्माताको परिचय थपे
‘नजित्नुपर्ने कुनै कारण छैन’
रेड जोेनको सुचीमा परेको वेदबहादुरले आफूले नजित्नुपर्ने कुनै कारण नभएको प्रतिकृया दिएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि देशसञ्चारसँगको कुराकानीमा उनले पार्टीले अंगिकार गरेका नीतिका कारण जित पहिल्यैै निश्चित भएको जिकिर गरे । उनले भने, ‘जितिदैनकि भन्ने कत्ति पनि लागेन । नेपालको सन्दर्भमा पार्टीको नीति तथा कार्यक्रम, भरपर्दो संगठन र हामीले लिएका संकल्पका कारणले पनि नजित्नुपर्ने कारण थिएन ।’ गाउँपालिका अध्यक्ष भएर बटुलेको अनुभवले प्रदेशमा काम गर्न सहज हुने उनको भनाई छ । प्रदेशप्रति उठेका प्रश्न न्युनिकरणका लागि काम गर्ने उनको प्रतिबद्धता छ । व्यक्ति विशेषलाई केन्द्रमा राखेर काम नगर्ने उनको उद्घोष छ ।