पर्वतमा जिपलाइनबाट साइकलयात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पर्वतमा जिपलाइनबाट साइकलयात्रा

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०७९, बुधबार

    पर्वत । विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उनले मङ्गलबार साइकल कुदाएका हुन् ।

    जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

    पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौँसम्म साइकलबाट यात्रा गरेपछि उनलाई साइक्लिङको नसा चढेको हो । त्योबेला पोखराबाट चार दिनमा काठमाडौँ पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाए ।

    बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गरेका छन् । बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुगेका छन् ।

    उनले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गरेका छन् । साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जिपलाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ ।