विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्स भिड्दै, को बलियो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्स भिड्दै, को बलियो ?

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७९, आईतवार

    काठमाडौ । कतार फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दै छन् । दोहास्थित लुसेल मैदानमा दुवैको लक्ष्य एक छ ।

    फ्रान्स र अर्जेन्टिना तीनपटक विश्व च्याम्पिय हुन चाहन्छन् । सेमिफाइनलमा साबिक विजेता फ्रान्सले मोरक्कोलाई पराजित गरेको थियो । अर्जेन्टिनाले क्रोएसियालाई पाखा लगाउँदै अन्तिम दुईको स्थान पक्का गरेको थियो । फ्रान्स समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकप ट्रफी उचाल्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ ।

    २० नोभेम्बरबाट सुरु भएको प्रतियोगितामा ३२ टोलीले उपाधिमाथि दाबेदारी दिएका थिए । तर, अन्तिममा फ्रान्स र अर्जेन्टिना मात्र ट्रफी जित्ने संघारमा पुगेका छन् । आइतबारको ६४औँ खेलको फाइनल ‘ह्विसेल’ बज्दा चार वर्षको पर्खाइ समाप्त हुनेछ । 

    ३६ वर्षपछि उपाधि जित्ने अवसर 
    सन् १९७८ मा अर्जेन्टिना पहिलोपटक विश्व च्याम्पियन भएको थियो । सन् १९८६ मा डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले दोस्रोपटक विश्वकप ट्रफी हात पा¥यो ।

    ३६ वर्षपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने दाउमा छ । सन् २०१४ मा विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । यो हारसँगै अर्जेन्टिनाको तेस्रोपटक उपाधि जित्ने सपना चकनाचुर भएको थियो । सन् १९३० र १९९० मा पनि अर्जेन्टिना उपविजेता भएको थियो ।

    अर्कोतर्फ, साबिक विजेता फ्रान्स सन् १९९८ मा पहिलोपटक विश्व च्याम्पियन भयो । सन् २००६ मा फ्रान्स उपविजेतामा सीमित बनेको थियो । सन् २०१८ मा फ्रान्सले दोस्रोपटक उपाधि जितेको थियो । फ्रान्स यसपटक पनि उपाधि जित्दै इटाली र ब्राजिलको नाममा रहेको लगातार दुईपटक उपाधि जित्ने कीर्तिमान बराबरी गर्न चाहन्छ । 

    हेड टु हेडमा अर्जेन्टिना बलियो
    अर्जेन्टिना र फ्रान्सबीच १२ पटक प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिना सर्वाधिक ६ पटक विजयी हुँदा फ्रान्सले तीनपटक जित निकालेको छ । यी दुई टोलीबीच तीन खेल बराबरीमा सकिएका छन् । सन् २०१८ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । विश्वकपमा भएको तीनमध्ये दुई खेल अर्जेन्टिनाको पक्षमा गएको छ । 

    फ्रान्सका अधिकांश खेलाडी अस्वस्थ 
    विश्वकप फाइनलअगाडि नै फ्रान्सका खेलाडी अस्वस्थ भएका छन् । रक्षक राफयल भराने र इब्राहिमा कोनाटे शुक्रबारको अभ्यासमा जोडिएनन् । यसैगरी, मोरक्कोसँग खेलमा बाहिर रहेका अड्रियन राविओट, डायोट उपमेकानो र किङ्स्ले कोम्यानसमेत ठीक नहुँदा प्रशिक्षक डिडिएर डेस्चाम्प्स चिन्तित छन् । लियोनल स्कोलानीको प्रशिक्षणमा रहेको अर्जेन्टिना भने विंगर एन्जल डी मारिया र लेफ्ट ब्याक मार्काेस अकुना फर्कने भएसँगै उच्च मनोबलमा छ ।

    मेसी र एम्बाप्पेको प्रतिस्पर्धा
    ३५ वर्षीय मेसी पहिलोपटक विश्वकप उपाधि जित्ने लक्ष्यमा छन् । क्लब फुटबलकै सर्वोत्कृष्ट खेलाडी स्थापित भइसकेका मेसीले नजितेको उपाधि विश्वकप मात्र हो । पाँचपटक विश्वकप खेल्दासमेत मेसीले ट्रफी उचाल्न पाएका छैनन् ।

    फ्रान्सका युवा स्टार खेलाडी केलियन एम्बाप्पे भर्खर २३ वर्षका भएका छन् । पहिलोपटक सन् २०१८ को विश्वकप खेलेका एम्बाप्पेले ट्रफी चुमिसकेका छन् । मेसी र एम्बाप्पेले व्यावसायिक फुटबल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट सँगै खेल्छन् ।

    एक प्रकारले समकक्षी साथी भए पनि दुईबीच आइतबार एक प्रकारको प्रतिस्पर्धा हुनेछ । मेसी पहिलोपटक र एम्बाप्पे लगातार दोस्रोपटक विश्व च्याम्पियन बन्न चाहन्छन् । उपाधिमा मात्रै हैन, दुवै खेलाडी गोल्डेन बुट जित्ने दौडमा शीर्ष स्थानमा छन् । जारी विश्वकपमा मेसी र एम्बाप्पेले समान पाँच गोल गरेका छन् । असिस्ट मेसीको तीन र एम्बाप्पेको दुई छ । फाइनलअघिको समीकरणमा मेसीले सीधै गोल्डेन बुट जित्नेछन् । यसैगरी, फ्रान्सका ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजले चार–चार गोल गरेका छन् ।