प्रधानमन्त्री पोखरा आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रधानमन्त्री पोखरा आउँदै

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०७९, आईतवार

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा आउन लागेका हुन् ।

    प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले राससलाई जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि आउने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् ।

    यस्ता छन् कार्यक्रम

    विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान ७.३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

    पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिए । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०.०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म ¥याली आयोजना गरिएको छ ।

    ¥यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११.०० बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । उद्घाटनपश्चात दिउँसो २.०० बजेदेखि ४.०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४.०० बजेदेखि ५.५ं० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६.०० बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए ।

    विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६.०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।