पोखरा । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी दोब्बरले बढाइएको छ । तेश्रो संस्करणको प्रतियोगितामा पुरस्कार दोब्बरले बढाइएको हो ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष समुहले ५ लाख रुपैयाँ पाउने आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार यसपालि उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ र सान्त्वनाले ६५ हजार रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत गर्ने शर्र्माले बताए । विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकले १० हजार पाउनेछन् ।
तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ ८ देखि १४ गतेसम्म हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगिता राउण्ड आधारमा खेलाइनेछ ।
महिला पुरुषतर्फ ५÷५ टिम सहभागी हुनेछन् । दुई विदेशी क्लबले पोखरा रंगशालामा प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ विदेशी टिम भारतको करेला स्टेट इलेक्ट्रोनिक बोर्ड, त्रिभुव आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, होङजी न्यु डायमण्ड स्पोर्टस क्लब भिड्नेछन् ।
पुरुषतर्फ श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुव आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ र गण्डकी प्रदेश खेल्नेछन् ।
दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ एपीएफले उपाधि जितेका थिए ।