दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा नेपालको झण्डा राखिएको छ । ३०१ औं पृथ्वीजयन्तीको अवसरमा टिम नेपो तनहुँले मानुङकोटमा दश फिट अग्लो झण्डा राखेको हो ।
पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित राखिएको झण्डाको बुधबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अनावरण गरेका छन् ।
सो अवसरमा नगरप्रमुख न्यौपानेले पर्यटकीय सम्भावनायुक्त मानुङकोटलाई थप प्रबद्र्धन गर्ने उद्देश्यसहित नेपालको झण्डा राखिएकामा संस्थाको प्रशंसा गरे ।
टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले मानुङकोट पर्यटकीय गन्तव्यको रुपमा विकसित भइरहेको अवस्थामा एउटा इट्टा थप्ने उद्देश्यसहित नेपालको झण्डा राखिएको बताए ।
कार्यक्रम संयोजक उमेश पौडेलले कार्यक्रम सफल पार्न स्थानीयवासीको पनि सहयोग रहेको बताए ।