म्याग्दे पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७९, बुधबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको छ । एकीकृत हरित विकास नेपालको सहकार्यमा गाउँपालिकालाई बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको हो ।

    बालश्रममुक्त घोषणाका लागि सात सूचक पूरा भएपछि मङ्गलबार गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरिएको एकीकृत हरित विकास नेपालका कार्यक्रम अधिकृत सुदीप सेढाइले जानकारी दिए ।। पालिकाभरीका पाँच हजार तीन सय २९ घरधुरीमा संस्थाले बालश्रममुक्त घोषणाका लागि अनुगमन गरेको थियो ।

    नेपाल सरकारको बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) अनुसार विसं २०७९ सम्ममा निकृष्ट तथा शोषणयुक्त बालश्रम तथा विससं २०८२ सम्म सबै प्रकारका बालश्रमको अन्त्य गर्ने अभियान चलाइएको छ ।

    म्याग्दे गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार कुनैपनि प्रकारको बालश्रम प्रयोग नगर्ने, बालश्रम प्रयोग भएका उत्पादन, वस्तु र सेवा उपभोग नगर्ने, नगराउने र कतै बालश्रमजन्य गतिविधि गराएको देखेमा तत्काल बालश्रमिकको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालश्रम ठूलो चुनौतिका रुपमा रहेको बताए। बालश्रम न्यूनीकरणका लागि व्यावहारिक कार्यन्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिबीले पिल्सिएका बालबालिका बालश्रममा लाग्न बाध्य भएको उनको भनाई थियो ।

    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अनाथ, असहाय र गरिबीको रेखामा रहेका बालबालिकाको अभिभावकत्वक प्रदान गर्नु सबैको जिम्मेवारी भएको बताए।

    प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सबैको साथ र सहयोगले पालिकालाई बालश्रममुक्त घोषणा गर्न सकिएको बताए।