काठमाडाै । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये ४६ जनाको शव मङ्गलबार बिहान काठमाडौँ ल्याइने भएको छ । बाँकी २३ जनाको पोखरामा शवपरीक्षणपछि आफन्तलाई बुझाइने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार ४६ जनाको शव काठमाडौँ ल्याइनेछ । उक्त प्रयोजनका लागि नेपाली सेनाको एमआई १७ हेलिकोप्टर आजै पोखरा पुगिसकेको छ । मङ्गलबार बिहान ७ः३० बजे पोखराबाट काठमाडौँका लागि उडान गरी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ः१५ बजे अवतरण हुनेछ ।
दुर्घटनामा बेपत्ता तीन जनाको खोजी कार्य जारी रहेको छ । खोज तथा उद्धार कार्य आजलाई स्थगित गरिएको छ । भोलि बिहानैदेखि पुनः खोजी कार्य गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजी कार्य गरिरहेको क्यानले जनाएको छ ।—