पोखरा । विमानको अवशेष यत्रतत्र छरिएका छन् । अवशेषको सुरक्षाका लागि त्रिपालले छोपिएको छ । पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरीपुल नजिकै सेती खोंचमा माघ १ गते भएको यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा अझै पनि भिड छ ।
आकाशमा उड्दै गरेको विमान भुँई झरेर धस्सारिएको घारीपाटनतर्फको क्षेत्रमा हिन्दु र बौद्ध धर्म अनुसार पुजापाठ भइरहेको छ । एउटै थलो, फरक २ धार्मिक परम्परा अनुसार पुजापाठ भइरहेको स्थानमा विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रु र चालकदलका आफन्त आउँछन्, धुपबत्ती बाल्छन्, फुल चढाउँछन् ।
विहान १० नबज्दै सुरु भएको आउजाउ बाक्लिदै थियो । १० बजेर ५८ मिनेटमा पोखरा महानगरपालिकाको आयोजनामा श्रद्धाञ्जली सभा सुरु भयो । जुन समयमा १३ दिन अगाडि जहाज दुर्घटना भएको थियो ।
कार्यक्रममा सहभागि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायत उपस्थित जप्रतिनिधि, कर्मचारीले फुलका गुच्छा मृतकका नाममा चढाए । ७२ वटा दिप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे ।
१३ औं दिनको पुण्यतिथिमा महानगरले आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले भने, ‘यस्ता दुर्घटना कहिल्यै नदोहोरियोस् ।’ उनले सिंगो गण्डकी प्रदेश शोकमा एकताबद्ध रहेको बताए । ‘अब हामी शोकलाई शक्तिमा बदल्ने अठोटका साथ यी आला घाउहरु पुर्दैे बाँचेकाहरुले नयाँ परिस्थितीको सामना गर्र्दै अगाडि बढ्ने अठोट गरौं’, उनले भने । उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट लगायतका संघसंस्था र व्यक्तिप्रति प्रदेश सरकारको तर्फबाट धन्यवाद दिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली आकाशमा यति ठुला दुर्घटना हुन नदिनलाई नेपाल सरकारले तदारुकताका साथ काम गरिरहेको बताए । ‘त्यो निष्कर्षमा पुग्छ भन्ने हामीले आशा लिएका छौं’, उनले भने ।
घारीपाटनतर्फको दुर्घटनास्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पनि शान्ति पाठ, पूजा, प्रार्थना सहितको श्रद्धाञ्जली सभा गरेको छ ।
सिताराम कलोनीतर्फ हिन्दु परम्परा अनुसार पुजापाठ र दिंवगत आत्माहरुको चिरशान्ति स्मृति प्रार्थना सभा भएको छ । दुर्घटनास्थलमा मन्त्रोचरणसहितको स्वस्ति शान्ति गरियो । स्वस्ति शान्तिमा पनि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी सहभागी भएका थिए ।
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना आन्तरिक तर्फको सबैभन्दा ठुलो दुर्घटना हो । यती एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमान दुर्घटना हुँदा चालक दलका ४ र ६८ यात्रु गरेर ७२ जनाले ज्यान गुमाएका थिए ।