काठमाडौ । सर्वोच्च अदालतले शुक्रवार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेर सांसद पद खारेज गर्ने फैसला गरे पनि उनले केही दिन भित्रैमा नेपाली नागरिकता लिएर पुनः चितवन क्षेत्र नम्बर २ बाटै उप-निर्वाचन लड्ने योजना बनाएको बताइएको छ ।
शुक्रवार साँझ नै प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाइसकेका लामिछानेले चाँडै नै नागरिकता लिन प्रक्रिया थाल्न सक्ने उनी निकटका व्यक्तिहरुले बताएका छन् ।
लामिछानले नागरिकता लिने प्रक्रिया थालेको केही दिनमै नागरिकता पाउन सक्ने बताइन्छ । त्यसका लागि उनले जिल्ला प्रशासन कार्यालयमा पुनः नेपाली नागरिकता कायम गरी पाउँ भनेर निवेदन दिनु पर्नेछ । जिप्रकामा निवेदन दिएर नागरिकता पाएपछि लामिछाने निर्वाचन लड्न योग्य हुनेछन् ।
शुक्रवारको सर्वोच्चको फैसलासंगै लामिछाने निर्वाचित भएको चितवन क्षेत्र नम्बर २ रिक्त रहेकोले त्यहाँ उपनिर्वाचन गरिने छ । उपनिर्वाचनमा लामिछानेले पुनः त्यही क्षेत्रबाट उम्मेदवारी दर्ता गरेर निर्वाचन जितेमा पुनः सांसद तथा मन्त्री बन्न सक्ने सम्भावनाका ढोकाहरु खुल्लै रहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।