दमौली । गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवमा दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा रहेको नाटक “गुलेली मास्टर” शनिबार पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन भएको छ।
‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार’ भन्ने नाराका साथ गण्डकी प्रदेश स्तरीय तेस्रो नाटक महोत्सव पोखरा गैह्रापाटन स्थित पोखरा थिएटरमा मञ्चन भइरहेको छ। तनहुँ जिल्लाबाट प्राप्त पाँच नाटकहरु मध्येबाट “गुलेली मास्टर” शीर्षकको नाटक छनौट भई व्यास दिव्यज्योति बोर्डिङ स्कूलका विद्यार्थीको अभिनयमा नाटक मञ्चन गरिएको हो ।
तनहुँ जिल्ला संयोजक आकाश अधिकारी र विद्यालय संयोजक पुष्पराज खतिवडा रहेको नाटकमा सुलभ पुलामी, सखिन थापा,सितल रसाइली,अभिनास कुवर, सन्जिला श्रेष्ठ,आदित्य वि.क, आचल रसाइली, अञ्जना गुरुङ, लजिमा थापा, एन्जल थापा, लक्ष्मी श्रेष्ठ र समिता आचार्यको अभिनय रहेको थियो।
नेपाली समाजमा गरिबीको कारणले अध्ययनबाट आफ्ना बालबालिकाहरुलाई वञ्चित गर्नुपरेको तितो यथार्थलाई नाटकमा समेटिएको छ । शिक्षाको हकबाट अब कोही पनि बञ्चित हुनुपर्दैन, त्यसको लागि पहिले इच्छाशक्ति देखाउन भने जरुरी हुन्छ भन्ने शिक्षा दिन नाटक मञ्चन गरिएको बताइएको छ ।
नाटक महोत्सवको पहिलो दिन प्रगति मावि, कास्कीको नाटक “करेसा कन्सर्ट” र व्यास दिव्य ज्योति बोर्डिङ स्कुलको नाटक “गुलेली मास्टर” मञ्चन भएको छ। नाटकमा गण्डकी प्रदेश भित्रका सात जिल्लाबाट २१ नाटक मञ्चन हुने छन्। सबैभन्दा बढी कास्की जिल्लाबाट १९ नाटक छनोट भएका छन्।
वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन नाटक छनौट समिति रहेको नाटक महोत्सव माघ २१ गतेसम्म चल्नेछ।