थानीमाईमा भित्रियो १४ फूलको डोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाईमा भित्रियो १४ फूलको डोली

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७९, बुधबार

    दमाैली । तनहुँको प्रसिद्ध थानीमाई मन्दिरमा फागुनको तेस्रो मङ्गलबार १४ फूलको डोली भित्रिएको छ । भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा १४ फूलको डोली भित्रिएको हो ।

    त्यसक्रममा तीन हजार भन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए । फूलको डोली भित्र्याउन तनहुँका विभिन्न ठाउँबाट सर्वसाधारण मन्दिर पुगेका थिए ।

    मन्दिरमा पहिलो मङ्गलबार १५ र दोस्रो मङ्गलबार दुई फूलको डोली भित्रिएको छ । अन्य महिनाभन्दा फागुनमा फूलको डोली कम भित्रिने गरेको थापाले बताए।

    मन्दिरमा माघ महिनामा एक सय ६३ फूलको डोली भित्रिएको थियो । माघको पहिलो मङ्गलबार ३४, दोस्रो मङ्गलबार ४७, तेस्रो मङ्गलबार ३९ र चौथो मङ्गलबार ४३ फूलको डोली भित्रिएको थियो ।

    मन्दिरमा फूलको डोली भित्र्याउन तनहुँका अलवा चितवन, गोरखा, लमजुङ, काठमाडौबाट भक्तजन आउने गरेका छन् । सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ

    पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनहरूको सङ्ख्या बढ्न थालेको छ । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ

    समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

    विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाई छ ।