दमौली । तनहुँ-१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै यो क्षेत्रमा उपनिर्वातन हुने निश्चित भएको छ। पौडेलले सोमबार नै सांसदबाट राजीनामा दिएर शपथग्रहण गरिसकेका छन् ।
उपनिर्वाचन हुने भएसँगै तनहुँ-१ मा उम्मेदवार हुनेहरुले आकांक्षा व्यक्त गर्न थालिसकेका छन् ।
यही मेसोमा व्यास नगरपालिकाको मेयरमा उठेका दीपकराज जोशीले सोमबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । जोशीले व्यास नगरपालिकाको मेयरमा एमालेसँग सहकार्य गरेका थिए । उनी २५२ मत अन्तरले पराजित भएका थिए ।
जोशीले सोमबार राति ओलीसँगको भेटेको तस्वीर सार्वजनिक गरेका छन् । यो तस्वीर आएसँगै कतिपयले उपनिर्वाचनमा जोशी उम्मेदवार हुने अनुमान गरेका छन् ।
जोशीले भनेका छन्, ‘आज केपी ओलीसँग समसामयिक राजनैतिक मुद्दाहरुमा छलफल गर्ने मौका मिल्यो। केपी ओलीको बारेमा फरक व्यक्तिहरुले फरक फरक विचारधारा राख्ने गर्छन् । तर नेपालको समकालीन राजनीतिमा केपी ओली जत्तिको बहुमुखी ज्ञान भएको अरु कुनै नेता भेटेको छैन।’
साथै जोशीले ओलीको बयान गरेपछि आफूलाई एमाले भयो भन्ने आरोप आउन सक्ने स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘जबसम्म तपाईं सहीलाई सही गलतलाई गलत भन्ने हैसियत राख्नुहुँदैन तब सम्म समाज रूपान्तरण हुँदैन ।’