जिपी उपचार केन्द्रमा श्वासप्रश्वास सेवा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपी उपचार केन्द्रमा श्वासप्रश्वास सेवा सुरु

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७९, मंगलवार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा श्वासप्रश्वास सेवा सुरु भएको छ । पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसर पारेर अस्पतालले मंगलबारदेखि श्वासप्रश्वास सेवा सुरु गरेको हो ।

    हालसम्म जनरल अस्पतालको रुपमा सेवा दिँदै आएको र यस केन्द्रको मुख्य उद्धेश्यबमोजिम श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सेवा सुचारु गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालमा श्वासप्रश्वास सेवाका लागि श्वासप्रश्वास विशेषज्ञ डा. शैलेश गुरुङलाई स्वागत गरिएको छ ।

    “अस्पताल स्थापनाको मुख्य उद्धेश्य श्वासप्रश्वास सम्बन्धी उपचारका लागि हो, हालसम्म जनरल सेवामात्रै दिइँदै आएकामा अब श्वासप्रश्वासको उपचार सेवा सुरु भएको छ,” डा. श्रेष्ठले भने ।

    श्वासप्रश्वास सेवाका लागि अस्पतालमा एक जना विशेषज्ञ सहित तीन जना चिकित्सक, तीन जना स्टाफ नर्स र एक जना जनस्वास्थ्य निरीक्षकको व्यवस्था गरिएको छ ।

    उपचार केन्द्रमा श्वासप्रश्वास सेवाका लागि फोक्सो जाँच गर्ने उपकरण उपलब्ध छ भने बाँकी आवश्यक उपकरण विस्तारै थप गर्दै लैजाने कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । “भएका उपकरणमार्फत् सेवा दिने र बाँकी उपकरण विस्तारै थपिदै जाने नीति छ,” श्रेष्ठले भने ।

    अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । अस्पतालमा नै श्वासप्रश्वास उपचार सेवा सुरु भएपछि यस भेगका सर्वसाधारणले अन्यत्र जिल्ला गएर सेवा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।