दमाैली । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित छ तनहुँको आँबुखैरेनी गाउँपालिका । मुग्लिन पुल कटेपछि आँबुखैरेनी आउँछ । गोरखा जाने मुख्य नाका पनि हो आँबुखैरेनी ।
पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीहरुको आँपको बृहत् बगैंचा भएकोले आँबु र आसपासमा खयरको समेत जङ्ल रहेकाले खैरेनीे भन्ने चलनबाट अपभ्रंम्सभई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । यहाँ भौगोलिकरुपमा लेक, वेशी, पहाड भूबनोटको विविधता पाईन्छ । यहाँ मुख्यगरी मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवारलगायत अन्य विभिन्न जातजातिको बसोबास रहेको छ ।
प्राकृतिक मनोरमका कारणसमेत यस गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । महाभारत श्रृङ्खला अन्तर्गत तनहुँकै अग्लो स्थानमा रहेको छिम्केश्वरी यही गाउँपालिकामा पर्दछ ।
गत स्थानीय तह निर्वाचनमा आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा युवा नेता ३५ वर्षीय शुक्र चुमान अध्यक्षमा विजयी भए। अध्यक्षमा निर्वाचित भएपछि चुमानले भनेका थिए, “आँबुखैरेनीलाई देशकै नमूना पालिका बनाउने गरी काम गर्छु ।” विजयपश्चात् बोलेका त्यही कुरालाई कार्यान्वयन गराउन चुमान लागिपर्नुभएको छ ।
गाउँपालिकाले पर्यटन, शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिएर काम गरिरहेको छ । पर्यटनमार्फत् गाउँपालिकालाई समृद्ध बनाउने र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोच राखेर काम अगाडी बढाइएको अध्यक्ष चुमान बताउँछन्। “हामी यो सबै कामका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न चाहन्छौ, गाउँपालिकावासीलाई पनि यो अभियानमा जोड्ने हाम्रो लक्ष्य छ,” उनी भन्छन् ।
आँधीमूलमा ताल बनाउने र मस्र्याङ्दीमा मोटरबोट चलाउने योजना
धार्मिक पर्यटकीयस्थल आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने र मस्र्याङ्दी नदीमा मोटरबोटर सञ्चालन गर्ने गाउँपालिकाको अवधारणा छ । आँधीमूललाई धार्मिक पर्यटकीयस्थलको गन्तव्य बनाउन त्यहाँ ताल बनाउने योजना अगाडी सारिएको छ ।
आँबुखैरेनी गाउँपालिका–१ आँधीमूलमा ताल बनाउन चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको छ । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।
आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारा लगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ ।
सत्रसयदेखि आँधीमूलसम्म पुग्ने सडक कालोपत्रे भइसकेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्य रुपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।
प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।
गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी नदीमा मोटरबोट सञ्चालन गर्ने लक्ष्य राखेको छ । मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको अध्यक्ष चुमान बताउँछन्। “तत्कालिन उर्जामन्त्री पम्फा भुषालसँग एक चरणको कुराकानी गरेका थियौ, यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई आँबुखैरेनीमा भुलाउन सक्छौ,” उनले भने, “त्यसका लागि उर्जा मन्त्रालयमार्फत् अनुमति चाहेका छौ ।”
चुमानका अनुसार चिनियाँ अधिकारीहरुसँग पनि यस विषयमा कुराकानी भएको छ । “नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटक राजमार्ग हुँदै पोखरातर्फ जाँदा उनीहरुलाई आँबुखैरेनीमा एकदिन भएपनि राख्न सकिए यहाँका स्थानीयवासीको जीविकोपार्जनमा पनि सहयोग पुग्छ,” चुमानले भने।
अस्पताल स्तरोन्नतिदेखि विद्यालय सुधारसम्म
गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि केही नवीन काम गर्न खोजेको छ । गाउँपालिकामा रहेको पन्ध्र शय्याको अस्पताललाई पचास शय्यामा स्तरोन्नतिदेखि विद्यालयको भौतिक एवं शैक्षिक सुधारका लागि प्रयास थालिएको छ ।
गाउँपालिकाले गत मङ्सिरदेखि पन्ध्र शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । यसलाई पचास शय्यामा स्तरोन्नति गर्न अति आवश्यक भइसकेको चुमानको भनाइ छ । “पृथ्वीराजमार्गको यो खण्डमा धेरैजसो दुर्घटना भइरहन्छ, दमौली कटेपछि यो क्षेत्रमा ठूलो अस्पताल छैन । यसलाई ट्रमा सेन्टर सहितको अस्पताल बनाउने हाम्रो लक्ष्य हो,” उनी भन्छन्, “अस्पताल स्तरोन्नति गर्न सकिए यहाँ थप सेवासुविधा पनि विस्तार हुने थियो ।”
गाउँपालिकाले बहुउद्देश्यीय भवन निर्माण गर्न लागेपनि अहिले तत्काललाई उक्त काम रोकेर अस्पतालमा लगानी गरिएको चुमानले बताए। “अहिलेको हाम्रो आवश्यकता बहुउद्देश्यीय भवन होइन, पैसा भए बहुउद्देश्यीय भवन त पछि बनाऔंला,” उनले भने ।
गाउँपालिकाले आमा समूह भवनका लागि बजेट विनियोजन गर्नुभन्दा उक्त बजेट विद्यालयको सुधारमा खर्च गर्ने निर्णय गरेको छ । सरकारी विद्यालयको गुणस्तर सुधारका लागि भौतिक एवं शैक्षिक क्षेत्रमा जोड दिइएको चुमानले बताए। “कार्यालयको सवारी पुरानो भइसकेको छ, कतै जाँदा दुःख दिन थालेको छ । तर हामीले नयाँ गाडी किन्ने निर्णय गरेनौ,” उनले भने, “बरु उक्त रकम विद्यालयमा लगानी गर्ने निर्णय गरेका छौ । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस वितरणको तयारी गरेका छौ ।”
आँबुखैरेनी गाउँपालिका–५ वडा कार्यालयले आफ्नो भवन इन्द्रदेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । वडा कार्यालय बरु अन्य ठाउँमा सञ्चालन गरेर सुविधासम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकिएको छ । उक्त निर्णय आगामी शैक्षिक शत्रदेखि कार्यान्वयन हुनेछ ।
आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार सय पाँच सय विद्यार्थी अध्ययनरत छन् । “सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छौ, व्यवहारमा उतार्दैनौ, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौ,” उनले भने “यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ।”
पर्यटन प्रबद्र्धनका लागि काम सुरु
गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि केही काम सुरु गरिसकेको छ । पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराका ढुङ्गामा भगवानका आकृति बनाइरहेको छ । यस ठाउँलाई पर्यटनको गन्तव्य बनाउन गाउँपालिकाले ढुङ्गामा विभिन्न भगवानका आकृति बनाउन सुरु गरेको हो ।
ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न यहाँका प्राकृतिक ढुङ्गामा भगवानका आकृति कुद्न सुरु गरिएको चुमान बताउँछन् । उनी भन्छन्, “पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित ऐनापहरामा पार्क निर्माणको कामलाई तीव्रता दिएका छौ, कालीगढहरु यतिबेला ढुङ्गामा भगवानका आकृति कुद्न व्यस्त हुनुहुन्छ ।
ऐनापहरामा पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । “ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौ,” चुमानले भने, “सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।”
यहाँ थप पूर्वाधार निर्माणका लागि रु पाँच करोड बजेट आवश्यक पर्ने देखिएको छ । थप बजेटका लागि सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यहाँ स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ ।
समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा जीप फ्लायरको सम्भाव्यता अध्ययन गर्न लागिएको छ । छिम्केश्वरी मन्दिरको प्रबद्र्धनका लागि जीप फ्लायर सञ्चालन गर्न सकिन्छ की भनेर त्यसको सम्भाव्यता अध्ययन गरिने चुमान बताउँछन् ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«े लगायतका हिमाल आँखै अगाडी हेर्न सकिन्छ ।
आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुननिर्माण गरेको छ । छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४ सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।
छिम्केश्वरीको पर्यटन प्रबद्र्धनका लागि रु एक करोड बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । “यहाँ गर्नुपर्ने धेरै काम छ, तर हामीसँग बजेट छैन । रु एक करोड त छुट्याएका छौ, तर त्यहाँ गर्नुपर्ने कामका आधारमा यो बजेट कम हो,” चुमान भन्छन् ।