दमाैली । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादी र नेकपा एस भनेको कांग्रेसको दया र कृपाबाट दुईचार सिट लिएर बाच्ने पार्टी भएको आरोप लगाएका छन् । तनहुँकाे भानु-१ भन्सारमा शनिबार आयाेजित मिसन ग्रासरुट अभियानलाई सम्बाेधन गर्दै उनले भने, ‘कांग्रेसले भोट नहालेको भए माओवादी दुईचार सिट र माधव नेपालको पार्टी शून्य हुने थियोे । कांग्रेसले माओवादी र माधव नेपाललाई प्रयोग गरेर नेपालमा कम्युनिस्ट पार्टी सिध्याउने योजनामा छ ।’
ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताए । ज्ञवालीले पार्टीमा रहेका रोग हटाउन मिसन ग्रासरुटले सहयोग पुग्ने बताए ।
“मिसन ग्रासरुट अभियानमा प्रत्येक टोलमा पुग्नुपर्छ, यो अभियानले एमालेको उपचार गर्छ, रोगहरु हटाउछ र पार्टी पहिलेको भन्दा स्वस्थ बन्छ,” ज्ञवालीले भने, “आफ्ना असन्तुष्टिलाई थाति राख्नुपर्छ । यो महाअभियान हो, सबै जना लाग्नुपर्छ ।”
तनहुँ–१ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा ज्ञवालीले उम्मेदवार हुन कार्यकर्ताले मन पराउने मान्छे हुनुपर्ने बताए। “जितेर मात्रै हँुदैन, टिक्ने पनि हुनुप¥यो, विगतमा धेरैले जितेर गएपनि टिक्न नसक्नेहरु पनि छन्,” ज्ञवालीले भने, “ंसधैंभरि पार्टीको पक्षमा लाग्न सक्ने उम्मेदवार चाहिन्छ । सबै पार्टी कमिटी एकताबद्ध भएर चुनावमा लाग्नुपर्छ ।”
ज्ञवालीले चुनाव एउटा लडाइ भएकाले त्यो लडाइ एमालेले जित्नुपर्ने जिकिर गरे। कम्युनिष्टहरु सिद्धान्त, देश र जनताप्रति समर्पित हुनुपर्ने ज्ञवालीको जोड थियो । सुखी नेपाली समृद्ध नेपाल एमालेको मुख्य ध्येय भएको चर्चा गर्दै ज्ञवालीले देश समृद्ध मात्र भएर नभई जनता सुखी पनि हुनुपर्ने बताए।
उनले भने, “नेपाल लडाएर लुटिखाने पुँजीवाद, दलाल तथा नोकरशाही र श्रमको आधारमा बाच्ने र गरिखाने वर्गको बीचमा छ । नेकपा एमाले सबै जनतालाई समृद्ध बनाउन चाहन्छ । जबसम्म उत्पादन बढाउन सक्दैनौं तबसम्म आत्मनिर्भर बन्न सकिन्न ।”
एमाले सचिव पद्मा अर्यालले वैशाख १० को चुनावको परिणाम एमालेको पक्षमा ल्याउने गरी मिसन ग्रासरुट अभियान चलाउनुपर्ने बताइन् । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले पार्टी पङ्क्ति एकताबद्ध भएमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सकिने बताए ।
क्षेत्रीय संयोजक हरिराज कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने, विद्या भट्टराई, कृष्ण पौडेल लगायतले पार्टीलाई बलियो बनाएर लैजानुको विकल्प नभएको बताए।