दमौली । नेपाली कांग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले अब तनहुँ नितर्खाउनो बताएका छन् । आफूलाई पानी मान्छेको संज्ञा दिँदै उनले त्यस्तो भनेका हुन् ।
तनहुँले आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक, व्यावसायिक सबै प्यास मेट्ने बताउँदै भट्टराईले भने, ‘अबको यो यात्रामा यहाँहरूको माया र साथको अपेक्षामा। उही यहाँहरूको, पानी मान्छे ।’
भट्टराईले भने, ‘२०६८ साल तिरको कुरा हो, पोखरीछापको मेरा एक जना साथीको मा एक रात उहाँका बास बस्न पुगेँ। बिहानी पख, मुख धुन खोजे। त्यहाँ पानी थिएन। पानी लिन कुवामा जानु पर्ने रहेछ। कुवामा जाँदा निक्कै लामो लाइन थियो। लाइनमा बस्ने प्राय: महिला दिदी बहिनी र ससाना नानीहरू। टाउकोमा नाम्लो लगाएर अझै हातमा अर्को भाँडो झुन्डाएका। पानी कुवाको पिँधमा मात्र, दुई-तीन गाग्री भर्दा रित्तिने। तर आफ्नो पालो कुरेर बसेकाहरूको लाइन लामो थियो। त्यसतै अवस्था नजिकैको अर्को कुवामा पनि थियो। यसो सम्झिए यी नानीबाबु अब घरमा पानी पुर्याएर कसरी विद्यालय समयमा पुग्लान्? दिनकै यति गह्रौँ भारी उचाल्दा महिला दिदी बहिनीलाई कति स्वास्थ्य समस्या देखिएला? मन अमिलो भयो। त्यसपछि मैले ‘तपाईँ मूल खोज्नु, म पैसा खोज्छु’ भनेर मुख नधोई निक्लिए। २०४९ देखि आज सम्म आइपुग्दा मैले यस क्षेत्रमा ६० भन्दा बढी खानेपानीको योजना ल्याएर काम गरेको छु। कहिले काँहि गाउँघर पुग्दा अहिले आनन्दले पानी खान पाइया छ भनिदिनु हुन्छ त्यसैमा खुसी लाग्छ। मेरा खुसी साँच्चै यो भेगको माटो, यहाँको हावा, पानी, यहाँका मानिसहरूसँग जोडिएको छ। यस पटक अझै जिम्मेवार स्थानमा पुगेर यहाँहरूको सहयात्री बन्ने अवसर पाएको छु। यहाँहरूको साथ पाएँ भने हामीले सँगै देखेका सपनाहरू छिट्टै पूरा हुनेछन्।’