काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँको डिल गरेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अस्वीकार गरेका छन् । सार्वजनिक भएको अडियोमा सुनिएको स्वर आफ्नो नभएकोसमेत उनको जिकिर छ ।
अडियो सार्वजनिक भएसँगै पार्टीभित्र हंगामा उत्पन्न भएपछि श्रेष्ठले अनौपचारिक रुपमा आफ्नो स्पष्टीकरण दिएका हुन् । पार्टीको म्यासेञ्जर ग्रुपमा सन्देश लेख्दै उनले आफू निर्दोष भएको बताएका छन् ।
‘म दुर्गा प्रसाईंलाई चिन्दिनँ, कहिल्यै उहाँसँग पैसा मागेको छैन’, श्रेष्ठले भनेका छन् । आफूले मन्त्री बन्ने कुनै प्रयाससमेत नगरेको श्रेष्ठको भनाइ छ । उनले पार्टीबाट हुने छानबिनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
श्रेष्ठले अस्वीकार गरे पनि अडियोमा सुनिएको आवाज श्रेष्ठसँग एकदमै मिल्दोजुल्दो रहेको नेताहरु बताउँछन् । ‘यदि कसैले दुरुस्तै क्यारिकेचर गरेको भए बेग्लै कुरा, नत्र हामीले सुन्दा उहाँकै जस्तो लाग्छ’, एक केन्द्रीय सदस्यले भने ।
यो अडियोका विषयमा श्रेष्ठसँग प्रत्यक्ष सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन रिसिभ भएन । व्यवसायी प्रसाईंसँग पनि सम्पर्क हुन सकेन । उनी अहिले वीरगञ्जमा छन् । प्रसाईं निकटका एक व्यक्तिले फोनमा भने, ‘यस्ता अडियो आउँछन् जान्छन् । उहाँलाई केही फरक पर्दैन ।’