रास्वपा सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपा सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०७९, आईतवार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

    रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

    ‘केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    रास्वपाले उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई पनि निर्देशन दिइएको छ।

    ‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न/नगराउन समेत श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। 

    कपुरबोट मिडियाले  श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको छ। 

    अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।