कुवेतविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कुवेतविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८०, शनिबार

    काठमाडौ । एसिसी प्रिमियर कपअन्तर्गत कुवेतविरूद्धको सेमिफाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। 

    नेपाली टिममा एक परिवर्तन गरिएको छ। गुल्शन झाको स्थानमा करण केसी टिममा परेका छन्। 

    नेपाली टिम :- रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल र आरिफ शेख।

    ११ वर्षपछि भिड्दै नेपाल र कुवेत

    एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा कुवेतले हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो।

    अन्तिम चारमा पुग्न जित हात पार्नु पर्ने खेलमा कुवेतले मुलपानी मैदानमा २७२ रन जोड्यो। जवाफी ब्याटिङ गरेको हङकङ अन्तिम बलमा २४२ रनमा समेटिएपछि सेमिफाइनल पुग्नबाट बञ्चित भयो। यसअघि युएईमाथि जित निकालेको हङकङलाई सेमिफाइनल पुग्ने दाबेदार टिम मानिएको थियो। तर कुवेतसँग स्तब्ध भएपछि हङकङ समूह चरणबाटै घर फर्कियो। 

    अब सेमिफाइनलमा कुवेतको भेट घरेलु टिम नेपालसँग हुँदैछ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेत र नेपालबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ। 

    प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको नेपालका लागि कुवेत बलियो प्रतिद्वन्द्वी त होइन। तर समूहको अन्तिम खेलमा कतारसँग खराब ब्याटिङ गरेको नेपालका लागि कुवेतलाई पराजित गर्नु चुनौतीपूर्ण हुनेछ। 

    पछिल्ला नौ खेलमा नेपाल अपराजित छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ का अन्तिम ६ खेल जितेको नेपालले एसिसी प्रिमियर कपमा मलेसिया, ओमान र कतारलाई पराजित गरेको थियो। साउदी अरेबियाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। 

    पछिल्ला ९ खेल मध्ये नेपालका सात खेल एकदिवसीय मान्यता प्राप्त थिए।

    नेपाली सिनियर टिमले एकदिवसीय फर्म्याटको खेलमा कुवेतसँग ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। पछिल्लो पटक नेपाल र कुवेतबीच सन् २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा भएको थियो।

    युएईमा भएको समूह चरणको उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २८० रन जोडेको थियो। नेपालका लागि तत्कालिन कप्तान पारस खड्काले शतक प्रहार गर्ने क्रममा १०६ रन जोडेका थिए।

    पारसको त्यो पहिलो अन्तर्राष्ट्रिय शतक ७७ बलमा पूरा भएको थियो। खेलमा ज्ञानेन्द्र मल्लले ५३ रन जोडेका थिए। सो खेल खेलेका ज्ञानेन्द्र मात्र अहिले नेपाली टिममा छन्। 

    नेपालले दिएको २८१ रनको लक्ष्य कुवेतले ६ विकेटको क्षतिमा पार गरेको थियो। नेपालविरुद्ध कुवेतका तीन ब्याटरले अर्धशतक प्रहार गरेका थिए। प्रतियोगिताको फाइनलमा नेपालले युएईसँग बराबरी खेल्दै संयुक्त रुपमा ट्रफी उचालेको थियो। (सेतोपाटीबाट)