आगो भित्र्याएर मनाए दरै जातिले गंगा दशहरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगो भित्र्याएर मनाए दरै जातिले गंगा दशहरा

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८०, मंगलवार

    दमाैली । दरै जातिले परम्पराअनुसार मंगलबार गिदरीको काठमा मोथेर निकालिएको आगोलाई नयाँ दाउरामा सल्काई घर घरमा भित्र्याएर गंगा दशहरा मनाएका छन् । परापूर्वकालदेखि गिदरीको काठबाट निकालिएको आगो संयुक्त रुपमा सल्काई घर घरमा भित्र्याएर गंगा दशहरा मनाउदै आएका हुन् ।

    व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले कार्यक्रमको उद्घाटन गरिन् । उनले दरै जातिको ऐतिहासिक पर्व र परम्पराको रुपमा गंगा दशहरालाई संरक्षण गरिनुपर्नेमा जोड दिइन् । ‘दरै जातिको संस्कार, संस्कृति र परम्परा लोप हुने अवस्थामा रहेकाले संरक्षणका लागि सबै जुट्नुपर्छ, तनहुँ दरै समाजको जिम्मेवारी भएपनि सहयोग प्रत्येक व्यक्ति र इकाईको पनि हो’, उनले भनिन् ।

    दरै समाज तनहुँका अध्यक्ष ठाकुर दरैले जाडो महिनामा काटिएको नयाँ दाउरामा सल्काएर घरमा भित्र्याउने परम्परालाई संरक्षणमा सबै जुट्नुपर्ने बताए । ‘दरै जातिको भेषभुषा, गरगहना लोप हुँदै गइरहेको छ, यसको संरक्षणमा समाजसँगै सबै जातिको जिम्मेवारी हो, सबैले साथ दिनुहोस् हामीले यसको संरक्षणका कार्यक्रम सहित अगाडि बढ्नेछौं’, उनले भने । दरै जातिकै उद्गमस्थलमा यस्ता संस्कार, संस्कृति र परम्परा, भेषभुषा लोप हुन नहुने उनले बताए ।

    दरै जातिले विशेष पर्वका रुपमा गंगा दशहरामा अग्नि पुजेर मनाउदै आएको व्यास नगरपालिका–५ स्थित दरै सुधार समाज चिन्टुटारका निवर्तमान अध्यक्ष तिलक बहादुर दरैले जानकारी दिए ।

    समाजका अध्यक्ष शर्मिला दरैको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सु्न्दर वाग्ले, दुम्सीचौर दरै समाजका अध्यक्ष पदम बहादुर दरै, साँखर दरै समाजका अध्यक्ष सिरबहादुर दरै, अत्रौली दरै समाजका अध्यक्ष हिरा बहादुर दरै, चिन्टुटार टोल विकास संस्थाका अध्यक्ष गोपाल बहादुर क्षेत्री, इन्दिरा दरैलगायतले संस्कार, संस्कृति, परम्पराको संरक्षणमा सबैको साथ हुनुपर्नेमा जोड दिएका थिए ।

    उक्त कार्यक्रममा समाजले ८० वर्षीया ज्येष्ठ नागरिक सन्तीमाया दरैलाई सम्मान गरिएको छ । त्यस्तै समाजको भवन निर्माणका लागि जग्गादातालाई सम्मान गरिएको थियो । तनहुँको चिन्टुटारलगायत सेवर, दुम्सीचौर, सिमलटार (कलेस्ती)लगायतका गाउँमा गंगा दशहरामा आगो भित्र्याउने प्रचलन रहेको छ ।