चितवनको डाँडामा सिरक ओढेर सुत्नुपर्दा तराईमा पसिनैपसिना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनको डाँडामा सिरक ओढेर सुत्नुपर्दा तराईमा पसिनैपसिना

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८०, मंगलवार

    चितवन । समाचार सङ्कलनका लागि इच्छाकामना गाउँपालिका–२ को मायाटार पुगेका पत्रकार दीपेन्द्र अधिकारी गएराति सिरक ओढेर सुते । जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना आइरहेको समयमा पहाडमा भने मौसम शीतल भएको उनलाई महशुस भयो ।

    यस जिल्लाको तराई भूभागमा तापक्रम हिजोआज ४० डिग्री हाराहारी हुँदा पहाडी क्षेत्रमा ३० डिग्री हाराहारी छ । पहाडी क्षेत्रमा रातको समयमा २० डिग्री हाराहारी तापक्रम रहने गर्दछ । तराईको उधुम गर्मी छल्न भन्दै यहाँका बासिन्दा अन्य जिल्लाका पहाडी क्षेत्र गइरहँदा जिल्लाकै शीतल पहाडी क्षेत्र भने ओझेलमा छ ।

    पहाडी क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्न सके जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ । बढ्दो गर्मीसँगै जिल्लामा आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ । जिल्लाको सदरमुकाम भरतपुरबाट छोटो समयको यात्रामै पुग्न सकिने सितल ठाउँहरु धेरै छन् ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ पहाडी क्षेत्रहरुमा घरबास (होमस्टे) सञ्चालनका लागि स्थानीयवासीलाई तालिम दिन थालिएको बताउँछन् । क्रमशः उनीहरुलाई सहयोग गरेर चेपाङ, मगर, गुरुङजस्ता जातिको होमस्टे सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको छ ।

    निजी क्षेत्रले ती क्षेत्रहरुमा होटल रेष्टुरेन्ट सञ्चालन गर्न चाहेमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको उनी बताउँछन् । गाउँपालिकाको हात्तीवाङ, चौकीडाँडा, ज्यान्दाला, मायाटार, याक्राङ, पानडाँडालगायत क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ छ ।

    उनी भन्छन्, “अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगिसकेकाले काम गर्न अब कठिन छैन । जिल्लाको तराई भूभागमा चर्काे गर्मी भइरहँदा गर्मी छल्ने गन्तव्यका रूपमा डाँडाका भवनलाई प्रयोगमा ल्याउन सकिन्छ ।”

    भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी महानगरकै वडा नं २९ मा हिल स्टेसन बनाउने विषयमा छलफल भइरहेको बताउँछन् । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन लागेको महानगरले पर्यटकीय पूर्वाधारको विकासमा जोड दिएको छ ।

    तस्वीर : राजेश घिमिरे