दमौली । तनहुँको व्यास नगरपालिका-६ निवासी रेशम परियारले दिनभर बसेर पनि जिल्ला प्रशासन कार्यालय तनहुँबाट सेवा नपाएको गुनासो गरेका छन् । श्रीमतीको नागरिकता बनाउन बिहीबार बिहान १० बजे नै आएका उनले दिनभर बस्दा पनि सेवा नपाएका हुन् ।
सबै कागजात ल्याएर पेश गर्दा पनि नागरिकता बन्दैन भनेर कर्मचारीले कागजात फालिदिएको उनले बताए । ‘१० बजे नै खाना पनि नखाई बच्चा बोकेर आएका थियौ, सबै प्रमाण दिएको थिएँ । विवाह दर्ता लगायतका कागजात दिएको थिएँ,’ उनले भने, ‘कर्मचारीले तपाई जानुस् भन्दै कागजात फालिदिनुभयो ।’
कर्मचारीले कागजात फालिदिएपछि उनले आफूले ल्याएका सबै कागजात च्यातिदिएका छन् ।
१६ वर्षमै नागरिकता बन्ने भन्दै यतिका समयसम्म किन नागरिकता नबनाएको भनेर कर्मचारीले थर्काएको उनले गुनासो गरे । उनकी श्रीमती ३१ वर्षकी छन् ।
विवाह गरेको १९ वर्षमा विवाह दर्ता, तीन वटा छोरीको जन्मदर्ता पनि गराइसकेको उनले बताए। श्रीमतीको बाबुआमा, आफ्नो सबै कागजात ल्याउँदा पनि काम हुन्न भनेर कर्मचारीले भनेको उनले बताए ।
कार्यालयमा सेवा लिन गएका अन्य सेवाग्राही पनि काम नभएपछि निराश भएर फर्किएका थिए । दिउँसो १ बजे प्रतिलिपि बनाउन आएकी एक महिला पनि काम नभएपछि त्यत्तिकै फर्किएकी थिइन् ।
सेवाग्राही समयमा काम पाउन नसकिरहेको बेला प्रतिलिपी शाखाका कर्मचारी भुवन पौडेल ४.३० बजे नै कार्यक़क्ष छाडेर हिँडेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले भने प्रहरी मुचुल्का माग गर्दा उनले रिसाएर कागजात च्यातेको बताए । उनले भने, ‘मागेजति कागजात ल्याउनुभएको होइन, आफ्नो कागजात आफैले च्यात्नु ठूलो कुरा भएन । थप एउटा कागज मगाएपछि उहॉ रिसाएर जानुभएको हो । प्रहरी मुचुल्का मागेका थियौ । ३१ वर्षपछाडी श्रीमतीको नागरिकता लिन आउनुभएको रहेछ, अहिलेसम्म किन नागरिकता नझिकेको, अन्त कतैबाट नागरिकता झिकेको छ की छैन । त्यो बुझ्न प्रहरीमा पठाएका थियौ रिसाएर जानुभयो ।’