राहदानी विभागले रु पाँच हजारमा पासपोर्ट उपलब्ध गराउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राहदानी विभागले रु पाँच हजारमा पासपोर्ट उपलब्ध गराउने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा रु पाँच हजारमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले रु १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि रु पाँच हजारमा उपलब्ध गराउने भएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताए ।

    उनले भनिन्, “सम्बन्धित जिल्लाबाट राहदानी लिएको खण्डमा रु पाँच हजार लाग्ने र राहदानी विभागबाट लिन चाहेमा रु १२ हजार लाग्नेछ ।” यसैगरी हराएको र बिग्रिएको राहदानीको हकमा विभागबाट लिन चाहेमा रु १७ हजार तथा जिल्लाबाट लिन चाहेमा रु १० हजार लाग्नेसमेत प्रवक्त सापकोटाले जानकारी दिइन् ।

    गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट ‘फ्रिक्वेन्ट फ्लायर’ (समय–समयमा विदेश गइरहने) लाई ६६ पृष्ठको राहदानी रु १० हजारमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो ।

    राहदानी विभागले आज ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराइएको जनाएको छ ।

    आज पत्राचार गरिएको उक्त परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र यही असार ३ गते आइतबारदेखि संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको विभागले जनाएको छ । –––