विराटनगर । नेकपा (माओवादी केन्द्र) युवा नेता जीवन आचार्यको नेतृत्वमा कोसी प्रदेश सरकारमा सहभागी हुने भएको छ। आचार्य यसअघि नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि पर्यटन, वन तथा वातावरण मन्त्री थिए।
अहिले नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारमा पनि आचार्य मन्त्री बन्ने भएका हुन्। स्रोतका अनुसार पार्टीको नेतृत्व गरेर सरकारमा जाँदा उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ।
माओवादीको शुक्रबार दिउँसो बसेको बैठकले आचार्यलाई मन्त्री बनाउने निर्णय गरेको हो। प्रदेश प्रमुखको कार्यालयले आइतबार बिहान उनको शपथका लागि तयारी गरेको छ। पार्टीबाट सरकारमा पठाउने अरु मन्त्रीका बारेमा टुंगो लाग्न बाँकी रहेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए।