डिभिजन वनमा बिरुवा वितरण : डाले घॉस र सौन्दर्यबर्द्धक बिरुवाको माग बढी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डिभिजन वनमा बिरुवा वितरण : डाले घॉस र सौन्दर्यबर्द्धक बिरुवाको माग बढी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । केही दिन यता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ । कार्यालयले बिहीबारदेखि निःशुल्करुपमा बिरुवा वितरण गर्न सुरु गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड बढेको हो ।

    बिहीबार, शुक्रबार र आइतबार कार्यालय परिसरमा नाम दर्ता गराउँदै सर्वसाधारण मागअनुसारको बिरुवा लगिरहेका छन् । शुक्लागण्डकीदेखि आइपुग्नुभएका खानेपानीका कर्मचारी बालकुमार वाग्लेले खैरेनीटार खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्न बिरुवा लगेको बताए । उनले भने, “कार्यालयले बिरुवा बाँड्ने सूचना गरेपछि बिहानै आएर बिरुवा लगेँ, कार्यालयबाट प्राप्त बिरुवा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्छांै ।”

    व्यास नगरपालिका–९ का बडहरेका सुरेश आचार्यले बाख्राका लागि डाले घाँस लिन आएको बताए । आचार्यले केही समयदेखि बाख्रापालन गर्दै आएका छन् ।

    कार्यालयले प्रत्येक वर्षझै यस वर्ष निःशुल्करुपमा बिरुवा वितरण सुरु गरेको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार एक लाख आठ हजार बिरुवा निःशुल्क वितरण गरिँदैछ । बिरुवा लिनका लागि सर्वसाधारणको उल्लेख्य सहभागिता रहेकाले केही दिनमै सबै बिरुवा वितरण गरेर सकिने उनको भनाइ छ ।

    कार्यालयमा विशेष गरी डाले घाँस र सौन्दर्यवद्र्धक बिरुवा लिन आउने सर्वसाधारण बढी रहेको उनले बताए । बिरुवा लैजानेको ठेगाना र सम्पर्क नम्बर प्रविष्ट गरेपछि मात्रै बिरुवा वितरण गरिएको छ । यसले गर्दा बिरुवाको संरक्षण भएको छ की छैन भन्ने अनुगमन गर्न सजिलो हुने उनको भनाइ छ । उनले भने, “बिरुवा लगेर मात्र हुँदैन, यसको संरक्षण मुख्य कुरा भएकाले यो विषयमा बिरुवा लैजानेलाई प्रष्ट भनेका छौ ।”

    डिभिजन वन कार्यालयको नर्सरीमा मात्रै ७० हजार बिरुवा उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरुवा लिनका लागि कृषक कार्यालयमा आउँछन् । पशुपालनमा सक्रिय कृषक डाले घाँसका लागि बिरुवा लिन आउने गरेको सहायक वन अधिकृत काशीराज पण्डितले बताए । कार्यालयको नर्सरीसहित सव डिभिजन ऋषिङ, विमलनगर, शुक्लागण्डकी र ब्यासमा बिरुवा उत्पादन हुन्छ ।

    कार्यालयबाट तेजपात, बेल, टिमुर, अशोका, कमपुर, म्याङ्गो स्टिक, अम्बा, सीपलिगान, राजवृक्ष, पारिजात, शीतलचिनी, बडहर, इपिल, लप्सी, अमला, चाप, निमारो, कटहरे, जामुन, कल्की, हर्रो, बर्रो, सिरिष प्रजातिका बिरुवा वितरण गरिनेछ । कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागि समेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।